२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको उपसभामुख पदमा पुष्पा भुसालको उम्मेदवारी दर्ता


उपसभामुख पदमा पुष्पा भुसालको उम्मेदवारी दर्ता

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले उपसभामुख पदको लागि आज उम्मेदवारी दर्ता गराएकी छन् । काँग्रेसकी सांसद भुसालले नयाँ वानेश्वरस्थित संघीय संसदको भवनमा पुगेर उपसभामुख पदमा मनोनयन दर्ता गराएकी हुन् ।

काँग्रेस सांसद भुसालको उम्मेदवारी दर्तामा माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) की सांसद लक्ष्मीकुमारी चौधरीको समर्थक रहेकी छन् ।

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले पनि प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मेदवारी दिने भएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार उम्मेदवारबारे छलफल जारी रहेको छ ।

यसअघि पनि काँग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । २०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकेका छन् ।

आज असार ३० गते बिहीबार बिहान ११ देखि १ बजेसम्म प्रतिनिधिसभाको कुनै सदस्यलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

भोलि असार ३१ गते शुक्रबार अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णायर्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

सभामुख र उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सभामुखमा माओवादी केन्द्रका तर्फबाट सांसद निर्वाचित अग्निप्रसाद सापकोटा छन् ।

सभामुखमा पुरुष भएकाले उपसभामुखमा महिला मात्रै उम्मेदवार हुन पाउने छन् । स्पष्ट बहुमत भएकाले सत्ता गठबन्धनले जसलाई उम्मेदवार बनाउँछ उही उपसभामुख चुनिने पक्का भएकोले भुसालको जित सहज छ ।

प्रतिनिधिसभामा हाल एमालेको ९८, काङ्ग्रेसका ६३ (२ जना निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दल र स्वतन्त्रसमेत गरी ४ जना सांसद रहेका छन् ।

पाँच दलीय गठबन्धनसँग काँग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ ।

लामो समयदेखि प्रतिनिधिसभाको उपसभामुख पद रिक्त रहँदै आएको थियो । सत्तारुढ गठबन्धनकातर्फबाट साझा उम्मेदवारका रुपमा भुसालको उम्मेदवारी परेको हो । यसपटक गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी भुसालले जित्ने पक्का जस्तै छ ।

उपसभामुख पदमा पुष्पा भुसालको उम्मेदवारी दर्ताउपसभामुख पदमा पुष्पा भुसालको उम्मेदवारी दर्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !