२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभाद्वारा चार बिधेयक स्वीकृत


राष्ट्रिय सभा

काठमाडौं । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले विभिन्न ४ विधेयकलाई स्वीकृत गरेको छ । बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) विधेयक, २०७९’, ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’ र ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’लाई सर्वसम्मतीले स्वीकृत गरेको हो ।

बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सामाजिक सुरक्षा विधेयक तथा नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकमाथि विचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाण र फौजदारी कसूर तथा फौजदारी कार्यविधि र यौन हिंसा विरुद्ध सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भनी कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्दप्रसाद शर्मा(कोइराला)ले छुट्टाछुट्टै प्रस्तावहरु प्रस्तुत गरेका थिए ।

४ वटै विधेयक माथि बैठकमा सैद्धान्तिक छलफल भई छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ समेत दिए पछि ती बिधेयकहरुलाई स्वीकृत गरिएको थियो ।

उक्त विधेयकहरुलाई स्वीकृत गर्नु पूर्व राष्ट्रिय सभाको आजको दोस्रो बैठकले नियम निलम्बनको प्रस्तावलाई समेत सर्वसम्मतीले पारित गरेको थियो ।

सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद अनिता देवकोटाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १०६ को उपनियम (१) को व्यवस्थालाई निलम्बन गर्ने सम्बन्धी प्रस्ताव पेश गरेकी थिइन् । उक्त प्रस्तावको नेकपा(माओवादी केन्द्र)की सांसद गंगाकुमारी बेलवासे र नेकपा(एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले समर्थन जनाएका थिए ।

राष्ट्रिय सभा नियमावली २०७५ को नियम १०६ को उपनियम(१)मा ‘विधेयकमा संशोधन पेश गर्न चाहने सदस्यले विधेयक माथिको विचार गरियोस् भन्ने प्रस्ताव उपर भएको सामान्य छलफलको बैठक समाप्त भए पछिको समयले बहत्तर घण्टाभित्र आफूले पेश गर्न चाहेको संशोधन सहितको सूचना सचिवलाई दिनु पर्नेछ ।’ भन्ने उल्लेख छ ।

उक्त नियम निलम्बन पछि अब आजै स्वीकृत गरिएको ती ४ वटा विधेयकहरु माथि सांसदहरुले संशोधनको सूचना दिन चाहेको खण्डमा ७२ घण्टाको समयसीमा घटेर आज दिउँसो दुई बजे देखि भोलि असार २९ गते दिउँसो २ बजेसम्म अर्थात् २४ घण्टाका लागि मात्र सीमित गरिएको छ । राष्ट्रिय सभाको अर्को बैठक यही असार ३० गते बिहान ११ बजे बस्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !