२३ बैशाख २०८१, आइतबार

उपेन्द्र यादवले हटाए तीनै जना यादव मन्त्रीहरु, एक जना बाबुरामतिर ढल्किने सम्भावना


रेणु यादव, महिन्द्र राय यादव र राम सहाय यादव

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ । जसपाले शेरबहादुर देउवा सरकारमा रहेका तीन जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ तीन जनाको नाम सिफारिस गरेको हो ।

जसपाले कृषिमन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री राम सहाय यादवलाई सरकारबाट फिर्ता बोलाएको छ । यद्यपि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले हिजो आइतबार साँझ प्रधानमन्त्री देउवालाई नयाँ मन्त्रीहरुको नाम उपलब्ध गराएको बुझिएको छ । नयाँ मन्त्रीका लागि सिफारिस हुनेमा प्रदीप यादव, इस्तियाक राई र मृगेन्द्र सिंह छन् । यादवलाई वन, राईलाई भौतिक पूर्वाधार र सिंहलाई कृषि मन्त्रीमा सिफारिस गरिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टीलाई फुटबाट जोगाउन मन्त्री फेरबदल गरेर चलाखी अपनाएका छन् । डा. बाबुराम भट्टराई पक्षमा जान लागेका नेताहरूलाई यादवले आफ्नो पक्षमा ल्याएर नयाँ मन्त्रीका लागि सिफारिस गरेका हुन् ।

फिर्ता बोलाइएकामध्ये अध्यक्ष यादवसँग लामो समयदेखि विवादमा रहेका महिन्द्र राय बाबुरामतिर ढल्किने तयारी गरेको बुझिएको छ । फिर्ता बोलाइएकी रेणुकुमारी भने अध्यक्ष उपेन्द्रसँग निकट भएकोले उनलाई बोलाउँदा पनि खासै असर नपर्ने उनको ठम्मयाई रहेको छ भने त्यस्तै फिर्ता बोलाइएका रामसहाय पनि उपेन्द्रका विश्वासपात्र भएको बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !