१४ बैशाख २०८१, शुक्रबार

वागमतीका मुख्यमन्त्री फेर्न कांग्रेस र माओवादीले थाले हस्ताक्षर संकलन


राजेन्द्र पाण्डे फाइल फोटो

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने गृहकार्य शुरु भएको छ । वागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरूद्ध सत्तारूढ गठबन्धनकै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरूले हस्ताक्षर संकलन गरेका छन् ।

गठबन्धनका दलहरु बीच पूर्वसहमति अनुसार सरकारको नेतृत्व फेर्न कसरत सुरु भएको हो । पूर्वसहमति अनुसार पदबाट हट्न नमानेपछि उनीविरूद्ध हस्ताक्षर संकलन गर्नुपरेको कांग्रेस र माओवादी केन्द्रले जनाएका छन् ।

गठबन्धनमा रहेका प्रमुख तीन दलबीच वागमती प्रदेश सरकारको नेतृत्वबारे भएको लिखित सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा बानियाँ मुख्यमन्त्री बन्ने उल्लेख गरिएको थियो ।

एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे मुख्यमन्त्री बन्नुअघि भएको लिखित सहमतिमा आधा अवधिपछि बागमती कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने गोप्य लिखत गरिएको थियो ।

उक्त सहमति कार्यान्वयन गर्नतर्फ मुख्यमन्त्री पाण्डे सकारात्मक नदेखिएपछि गठबन्धनभित्रै सत्ता संघर्ष सुरु भएको हो । उनका अनुसार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पास भएलगत्तै पूर्वसहमतिअनुसार काँग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्नुपर्ने भन्दै संघर्ष सुरु गरिएको हो ।

आगामी केही दिनभित्रै प्रदेशमा मुख्यमन्त्री फेरिने गरी काँग्रेस छलफलमा सक्रिय रहेको छ । काँग्रेसले मुख्यमन्त्री पाउने विषयमा केन्द्रीय तहसम्म दवाव सिर्जना गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !