२१ बैशाख २०८१, शुक्रबार

देउवाविरुद्ध खरो उत्रिँए शेखर, बोलाए आफ्नो समूहको बैठक


शेरबहादुर देउवा र डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका उम्मेद्वार रहेका डा. शेखर कोइराला प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध खरो उत्रिँएका छन् ।

पार्टीको महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै कांग्रेसभित्रको कोइराला नेतृत्वको समूह सभापति देउवाविरुद्ध खरो उत्रिँएको हो । सभापति देउवामाथि दबाव बढाउने रणनीति लिएर कोइरालाले आज आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।

सभापति देउवाले पार्टीको विधान अनुसार काम नगरेको मुद्दालाई उठाएर कोइरालाले आज दिउँसो २ बजे काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाएका हुन् । अघिल्लो कार्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको शशक्त भएर उत्रिँएको हो ।

पछिल्लो समय पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट रहँदै आएको छ ।

यसैगरी, पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्नेतर्फ पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप रहेको छ । कोइराला समूहले आफू निकटका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथ पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

यसअघि पनि पार्टीमा सभापति देउवाको कार्यशैलीप्रति आलोचना गर्दै आएको कोइराला समूह खरो उत्रिँएसंगै काँग्रेसमा साम्य भएको देउवा-कोइरालाबीचको शीतयुद्ध फेरि शुरु भएको हो ।

कोइराला पक्षबाट महामन्त्री बनेका गगन थापा आगामी निर्वाचनमा आफू पार्टीबाट प्रधानमन्त्रीको उम्मेद्वार बन्ने रणनीति अवलम्वन गरेर सडक र सदनमा देउवा सरकारको आलोचना गर्दै आएका छन् । थापाले आफू र आफ्नो पुस्ताले अबको निर्वाचनपछि प्रधानमन्त्रीको लागि हस्तक्षेप गर्ने बताएका छन् ।

थापाले आगामी निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको बताएका छन् । गत असार ४ गते शनिबार राति प्रशारण भएको कान्तिपुर टेलिभिजनमा प्रस्तोता सुरज सिंह ठकुरीले संचालन गर्ने ‘इट्स माई सो’ कार्यक्रममा अन्तर्वार्ताको क्रममा अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि तयार योग्य रहेको र त्यसैको तयारीमा आफूहरु रहेको बताएका थिए ।

तपाइँ अहिले प्रधानमन्त्रीको लागि योग्य हुनुहुन्छ ? भन्ने पत्रकार ठकुरीको प्रश्नको जवाफ दिंदै सांसद थापाले पूर्वप्रधानमन्त्रीहरुले अब पुनः प्रधानमन्त्री नभइ नयाँलाई पालो दिनुपर्ने उनको जोड रहेको छ । पूर्वप्रधानमन्त्रीहरुले राजनीतिमा धेरै ठूलो योगदान दिए पनि अब भने नयाँ पुस्ताको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने थापाको जिकिर रहेको छ ।

उता ५ पाठक प्रधानमन्त्री भईसकेका देउवाले सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै गठबन्धनको तर्फबाट साझा प्रधानमन्त्रीको रुपमा रुपमा मान्ने मोडमा रहेका छन् ।

केही समयअघि प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना प्रकट गरेका छन् । नेपाल पर्वतारोहण संघले असार १० गते शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघले आशीर्वाद दिएको प्रसंग स्मरण गर्दै फेरि एक पटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका थिए ।

प्रचण्डले आफू पहिलोपटक प्रधानमन्त्री बन्दा सपना हो कि जस्तो लागेको बताएका छन् । उनले गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री हुँदा झिलिमिलीमा नै कार्यकाल बितेको सुनाएका थिए । यद्यपि दोस्रोपटक प्रधानमन्त्री हुँदा धेरै कुरा सुधार गरेको दावी गर्दै मधेसलाई पनि विश्वासमा लिएर निर्वाचनमा जाने कुरा सानो नभएको बताएका थिए ।

उनले अर्कोपटक नेतृत्व गर्ने अवसर पाउने भए देशलाई नयाँ युगमा लैजाने सपना रहेकोसमेत सुनाएका थिए । प्रचण्डले देशमा आजको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरूमाथि निर्मम प्रहार गर्दै अघि बढ्ने बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !