२२ बैशाख २०८१, शनिबार

एसपीपीमा मलाई मुछ्न पत्रमा टिपेक्स लगाइयो, अमेरिकी दूतावासले सत्य बोल्नुपर्छ : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) एसपीपीमा आफूलाई मुछ्न पत्रमा टिपेक्स लगाइएको आरोप लगाएका छन् ।

जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको ‘जबज : राष्ट्र निर्माणको आधार’ विषयक गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा पूर्वप्रधानमन्त्री ओलीले एसपीपीमा मलाई मुछ्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रमा टिपेक्स लगाएर चलानी नम्बर हातले लेखेर मिति संशोधन गरी बाहिर ल्याएको आरोप लगाएका हुन् ।

ओलीले पत्रमा मिति र चलानी नम्बर हातले लेखेको विषयलाई लिएर पनि नेपाली सेनाप्रति आपत्ति जनाएका थिए । एसपीपीमा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको उनले दाबी गरेका हुन् । ओलीले भने यसबारे पूर्वसेनापति क्षेत्रीसँग सोध्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

अध्यक्ष ओलीले नेपाली सेनाले लेखेको पत्रबारे अमेरिकी दूतावासले सत्यतथ्य बोल्नुपर्ने अडान समेत राखेका छन् । उनले एसपीपीका विषयमा वास्तविक कुरा बाहिर ल्याउन सरकार र अमेरिकी दूतावासको ध्यानाकर्षण गराएका छन् ।

उनले हातले नलेखेको पत्र निकाल्न सरकारलाई चुनौती समेत दिएका छन् । सत्ता गठबन्धनको सरकारले एसपिपी पनि पास गर्ने भन्दै गरे पनि पछि जनताले विरोध गरेपछि पछि हटेको उनले बताए ।

अहिले माओवादी अध्यक्ष प्रचण्डले आफूलाई नै एसपीपीको मुख्य योजनाकार भएको भन्दै उनले आपत्ति जनाए । उनले सत्ता गठबन्धन दलका नेताहरूले एसपिपी केपी ओलीको पालोमा आएको भनेर ढाँटिरहेको बताए ।

ओलीले एसपीपीका सन्दर्भमा शेरबहादुर देउवा र प्रचण्डले सहमति जनाएको दावी गरेका छन् । ओलीले एमसीसीकै बेला एसपीपीको मस्यौदामाथि देउवा र प्रचण्डले नै सहमति जनाएको दाबी गरे ।

उनले २०१९ मै एसपीपी गलत ढंगले अगाडि बढेको भन्दै आफूले नै त्यतिबेला रोकेको जिकिर गरे । ओलीले आफूले नभएर आफूअघिका प्रधानमन्त्री सुशील कोइरालाले नै एसपीपीमा जाने विषयमा निर्णय गरेको दावी गरेका छन् । सरकारले एसपीपी सम्झौता रद्ध गरिएको पत्र अमेरिकी सरकारलाई पठाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !