१४ बैशाख २०८१, शुक्रबार

आगामी निर्वाचनसम्म गठबन्धनको आवश्यकता छ : अध्यक्ष नेपाल


माधवकुमार नेपाल फाइल फोटो

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी चौथो बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकता अहिले पनि रहेकाले निर्वाचनसम्म कायम हुने बताए ।

“स्थानीय तहको निर्वाचनमा कतिपय पार्टीले धोका दिए । हामीले पनि राम्रोसँग पार्टी परिचालन गर्न नसकेर अपेक्षित परिमाण ल्याउन सकेनौँ, तर पनि गठबन्धन आवश्यक रहेको छ”, उनले भने, “गठबन्धन दलका घटकले मिलेर जाऊ भन्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पनि विगतमा भएका गल्तीको आत्मालोचना गरेर सङ्घीय निर्वाचनमा पनि गठबन्धन गरेर जाने भन्नुभएको छ ।”

उनले स्थानीय तहमा जनताको मत प्राप्त गरेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहमा पाएको मतको आधारमा प्रतिनिधिसभा र प्रदेशसभामा मत बढ्ने बताए ।

“हामीले १६५ निर्वाचन क्षेत्रमा जित्ने सम्भव नै छैन”, उनले भने, “तर उम्मेदवार उठाउने स्थिति कहाँ–कहाँ छ । वस्तुनिष्ठ ढङ्गले मूल्याङ्कन गर्नुपर्दछ ।”

नेता नेपालले मुलुकमा बढेको महँगी नियन्त्रण गर्नुपर्ने बताएका छन् । विपन्न परिवार, गरिब परिवारलाई विशेष सहुलित प्रदान गर्ने कुरा आजको पाँचदलीय बैठकमा भएको बताए ।

“भ्रष्टाचार र कमिशनका जालो मुलुकमा छ”, उनले भने, “त्यसलाई नियन्त्रण गर्न सक्नुपर्दछ । भ्रष्टाचार नियन्त्रण गर्नका लागि अनुगमन प्रणाली बनाउनुपर्दछ ।”

नेता नेपालले आफूहरूले बाध्य भएर पाँचदलीय गठबन्धन बनाएको बताए । उनले नेकपा (एमाले)बाट विद्रोह नगरेको भए दास बन्नुपर्ने अवस्था आउने भनाइ राखे । कम्युनिष्ट पार्टीले देशभक्तिको झण्डा, लोकतन्त्रको कुरा उठाउँदै आएकाले नेपाली जनताले कम्युनिष्टलाई मन पराएको बताए ।

विदेशी शक्तिसँग नझुक्ने, नेपालीको जनताको स्वाभिमान र नेपाली जनतामा देशभक्त शक्तिको रूपमा पहिचान गर्नुपर्ने बताए । कम्युनिष्ट पार्टीभित्र अधिनायकवाद हाबी भयो भने पार्टीले लोकतन्त्रको झण्डा उठायो भन्न नसकिने बताए । पार्टी अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीभित्र आत्मालोचना गर्ने पद्धति विकास भएको बताए ।

कमिटीभित्र नभई बाहिर असन्तुष्टि व्यक्त गर्नेलाई छुट दिन नसकिने उनको भनाइ छ । “पार्टीको कमिटीभित्र शालीनताका साथ आफ्ना कुरा राख्न पाइन्छ । सङ्गठनका कार्ययोजना र पार्टीलाई कसरी गतिशील प्रभावशाली बनाउन सकिन्छ भन्ने कुरा सिर्जनात्मक छलफल गर्न सकिन्छ”, उनले भने, “आ-आफ्नो ठाउँबाट पार्टीलाई स्थापना र जनताको प्यारो पार्टी कसरी बन्न सकिन्छ भन्नेमा छलफल गर्नुपर्दछ ।”

उनले अनुगमन गर्दा कमी–कमजोरी भए सुधार्न सकिने बताए । महासचिव वेदुराम भुसालले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !