१२ जेष्ठ २०८१, शनिबार

ठूला काम होइन, जनता खुसी हुने साना काम गर्नुस् : अर्थमन्त्री शर्मा


जनार्दन शर्मा

काठमाडौँ । वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अर्थमन्त्री जनार्दन शर्माले अन्तर्क्रिया गरेका छन् । उनले आफ्नो गृह जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भेट गरी अन्तर्क्रिया गरेका हुन् ।

सो अन्तर्क्रियामा रुकुमपश्चिमका नगरपालिका प्रमुख-उप्रमुख, गाउँपालिका अध्यक्ष-उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य लगायतको उपस्थिति थियो ।

जनप्रतिनिधिलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गरे । “तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्”, उनले भने, “स्थानीय जनतालाई ससाना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकता पूरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।”

उनले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र सङ्घले बनाउने पनि जानकारी दिए । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उनले निर्देशन दिए ।

“कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाईहरु (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।”

सङ्घ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्याङ्कन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए । त्यस्तै प्रत्येक हप्ता जनताकाबीच गएर अन्तर्क्रिया, भेटघाट र सामिप्यता बढाउन उनले सुझाव दिए ।

मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास-योजनाका बारेमा जिल्लास्तरका कर्मचारीसँग छलफल गर्न, जनप्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सोभन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिएका थिए ।

छलफलमा जनप्रतिनिधिले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !