२० बैशाख २०८१, बिहिबार

ललितपुर महानगरको मेयरमा चिरीबाबुको जित सुनिश्चित


चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकार

ललितपुर । स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत जारी मतगणनामा ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनको जित सुनिश्चित भएको छ ।

जारी मतगणनामा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका महर्जनले ३९ हजार २३२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले २३ हजार ४९२ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगरपालिकामा खसेको ८५ हजार ८६१ मतमध्ये हालसम्म ७९ हजार ८६३ मत गणना सकिएको छ । ५ हजार ९९८ मत गन्न बाँकी हुँदा महर्जनले १५ हजार ७४० मतको फराकिलो अग्रता बनाएसँगै मतगणना सम्पन्न हुनुअघि नै उनको जित सुनिश्चित भएको हो ।

उपप्रमुखमा गठबन्धनबाट नेकपा एमालेका मञ्जली शाक्यले २३ हजार ७३१ मत ल्याएकी छन् भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले १७ हजार २६३ मत ल्याएका छन् । शाक्यले माओवादीका बज्राचार्यलाई ६ हजार ४६८ मत अन्तरले पछि पारेकी छिन् ।

ललितपुर महानगरमा अहिले २७ र २८ वडाकाे मतगणना जारी छ भने २९ वडाकाे गणना गर्ने तयारी गरिएको छ । आज रातिसम्म ललितपुर महानगरको अन्तिम मतपरिणाम आउने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !