२९ बैशाख २०८१, शनिबार

सिन्धुलीको मरिण गाउँपालिकाको मतगणना सुरु


मतगणना सुरु

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न सर्वदलीय बैठक बस्दैछ ।

मरिणको वडा नं १ बाट मतगणना सुरु गरिएको हो । हालसम्म ५४३ मतगणना सम्पन्न भएको जनाइएको छ । यस्तै हरिहरपुरगढी गाउँपालिकामा मतगणनाको तयारी गरिएको छ । बिहान ७ बजेदेखि मतगणना गर्ने सहमति भए पनि ढिलागरी मतगणना सुरु हुन लागेको हो ।

दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, कमलामाई नगरपालिका, घ्याङलेख गाउँपालिका, गोलञ्जोर गाउँपालिकामा बिहान ९ बजेदेखि मतगणना गर्ने बताइएको छ ।

सुनकोसी गाउँपालिकामा बिहान सर्वदलीय बैठक राखिएको निर्वाचन अधिकृत लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार नेकपा (एमाल)ेले बन्दीपुर र चैनपुरमा पुनःमतदानको माग गर्दै निवेदन दिएको छ ।

निर्वाचन अधिकृत पाण्डेले उक्त स्थलमा झडप भएको र पछि मतदान भएको बताए । सर्वदलीय बैठकपछि के गर्ने भन्ने निर्णय हुने उहाँको भनाइ छ ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी पुष्पाकुमारी झाका अनुसार जिल्लामा ६९ प्रतिशत मतदान भएको छ ।

जिल्लाको केही स्थानीय तहबाट विवरण प्राप्त नभएकाले यो प्रक्षेपण गरिएको हो । जिल्लामा कति प्रतिशत मत खस्यो भन्ने विषयमा स्थानीय तहमा खटाइएका निर्वाचन अधिकृतसँग विवरण माग गरिएको उहाँले जानकारी दिए ।

दुधौली नगरपालिकामा ७०.६२, कमलामाई नगरपालिकामा ६८, सुनकोसी गाउँपालिकामा ६६, हरिहरपुरगढीमा ६८ र फिक्कल गाउँपालिकामा ७२.७३ प्रतिशत मतदान भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !