८ जेष्ठ २०८१, मंगलबार

आईजीपी नियुक्ति आफ्नो मृत्युभन्दा पनि दुःखद भएको विश्वराजको जिकिर


विश्वराज पोखरेल र सर्वोच्च अदालत

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले आईजीपी नियुक्ति आफ्नो मृत्युभन्दा पनि दुःखद जिकिर गरेका छन् । सर्वोच्च अदालतमा आज बिहीबार इजलासमा उपस्थित भएर एआईजी पोखरेलले नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सरकारले आफूलाई मरेतुल्य बनाएको दुखेसो पोखेका हुन् ।

एआईजी पोखरेलले धिरजप्रताप सिंहभन्दा आफू डेढ वर्ष सिनियर भएको पनि दावी गरेका छन् । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा पोखरेलले सरकारले गरेको आईजीपी नियुक्तिको निर्णयले आफूलाई अन्याय भएको बताएका हुन् ।

उनले प्रहरी संगठनमा २९ वर्ष लामो काम गरेको तर बढुवा हुँदा सरकारले अन्याय गरेको भन्दै आफूलाई न्याय दिन सर्वोच्च अदालतका न्यायाधीशसँग आग्रह समेत गरेका छन् । उनले सरकारको यो निर्णयले आफू र प्रहरी संगठनलाई गम्भीर क्षति पुगेको समेत बताएका छन् ।

उनले आफूले नै एआईजी हुँदा धीरजप्रताम सिंहलाई फुली लगाइदिएको र अहिले जुनियरलाई आईजीपी मान्न नसक्ने उनले जिकिर गरेका छन् । उनले सरकारको निर्णय उल्ट्याउँदै आफूलाई आईजीपी नियुक्त गरिनुपर्ने माग गरेका छन् ।

पोखरेलले दुवै पक्षको सुनुवाइपछि इजलाससमक्ष आफ्नो क्षमता र योग्यताका आधारमा प्रहरी संगठनको नेतृत्व गर्न पाउनुपर्ने बताएका छन् । आईजीपी नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएका एआइजी पोखरेलले इजलाससमक्ष आफूसँग संगठन हाक्ने क्षमता र योग्यता रहेको भन्दै प्रहरी संगठनको जिम्मेवारी आफूले पाउनु पर्ने जिकिर गरेका हुन् ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले यही वैशाख १९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ । वैशाख १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको आज भएको बहस सकिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा केही बेरअघि बहस सकिएको हो । बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेकोले रिटउपर आजै आदेश आउन सक्ने सर्वोच्च अदालत प्रशासन स्रोतले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !