२४ बैशाख २०८१, सोमबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते नेपाल आउने


शेरबहादुर देउवा र नरेन्द्र मोदी

काठमाडौं । नेपालको दक्षिण तिरको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दुले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मे अर्थात् जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध पूर्णिमामा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन् । नेपालले जेठ २ गते भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ । प्रधानमन्त्री देउवा भारत गएको एक महिनापछि नै मोदी नेपाल आउन लागेका हुन् । मोदीको नेपाल भ्रमण भने यसपल्ट निकै छोटो हुन सक्ने बताइएको छ ।

नेपालका प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदी संयुक्त रूपमा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी हुनेछन् । मोदी दिल्लीबाट हालै सञ्चालनमा आउको कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी आउनेछन् ।

प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । भारतीय सञ्चार माध्यमका अनुसार युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा मोदी आउन लागेका हुन् ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा दुई पटक नेपालको भ्रमण गरेका थिए। सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !