२० बैशाख २०८१, बिहिबार

विप्लवको पार्टीवाट पदमुक्त भएका धर्मेन्द्र र हेमन्तद्वारा नयाँ पार्टी घोषणाको तयारी


धर्मेन्द्र र हेमन्त

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाट पदमुक्त भएका पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) ले नयाँ पार्टी घोषणाको तयारी गरेका छन् ।

पदमुक्त भएका धर्मेन्द्र र हेमन्त पक्षको बैठक आज बुधबार बिहान ललितपुरमा बसेको छ । विप्लवले पदमुक्त गरेको निर्णय गरेलगत्तै कारबाहीमा परेका पक्षको बसेको बैठकले छुट्टै पार्टी बनाएर आजै घोषणा गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

पार्टी केन्द्रीय समितिमा वली र बास्तोला पक्षको बहुमत भएको दावी समेत गरिएको छ । यस्तै वली र बास्तोला पक्षले पनि विप्लवसहित पार्टीका प्रवक्तालाई समेत कारवाही गर्ने तयारी गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै विप्लवले धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकाले कारवाही गरेको बताएका हुन् । विप्लवले पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको स्पष्टोक्ति दिएका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र र हेमन्तलाई पदमुक्त गरेसंगै विभाजन उन्मुख देखिएको छ । पार्टीलाई विभाजन गर्ने खालका गतिविधि गरेको आरोप लगाउदै विप्लवले उनीहरूलाई पदमुक्त गरेसंगै विप्लव नेतृत्वको नेकपा विभाजन नजिक पुगेको हो ।

पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै विप्लवले धर्मेन्द्र र सुदर्शनलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेका हुन् । आज बिहान कपिलवस्तुको शिवगढीमा बसेको सचिवालय बैठकले उनीहरुलाई निष्काशन गरेको हो ।

महासचिव विप्लवले वली र बास्तोलाले लगातार मालेमावादको सामान्य संगठनात्मक विधि, मान्यता एवं एकीकृत जनक्रान्तिको भावना विपरित बैठकका निर्णय र नेतृत्वको विरुद्ध पार्टी बाहिरका मेडियाहरुमा छाडा तथा अराजक तरिकाले अन्तवार्ता दिने, कार्यकर्तामाझ नाङ्गो गुटबन्दी गर्ने र पार्टीका सबै मूल्यमान्यता भत्काउने कार्य गरेको आरोप पनि लगाएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !