११ जेष्ठ २०८१, शुक्रबार

सत्ता गठबन्धनका दलहरु जुटे बेग्लाबेग्लै आन्तरिक छलफलमा


सत्ता गठबन्धन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनमा उपमहानगरको भागबण्डा टुंग्याउने काम फलामको चिउरा जस्तै भएको छ । हिजो महानगरपालिकाको महानगरको भागबण्डा अनौपचारिक रुपमा टुंग्याएका गठबन्धनमा नेताहरुलाई उपमहानगरको भागबण्डा टुंग्याउन सकस पैदा भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा उपमहानगरको लागि भागबण्डा टुंग्याउन केहि असहज देखिएकोले उपमहानगरको भागबण्डा टुंग्याउन पाँच दलीय सत्ता गठबन्धनका रहेका दलका नेताहरु बेग्लाबेग्लै आन्तरिक छलफलमा जुटेका छन् ।

महानगरको टुंगो लगाएको बताएका गठबन्धनका राजनीतिक दलहरु छलफल सकेर संयुक्त बैठक बस्ने तयारीमा रहेका हुन् । उनीहरुलाई आजै जसरी भएपनि उपमहानगरको टुंगो लगाउनुपर्ने दवाव छ ।

गठबन्धनमा उपमहानगरपालिकाको भागबण्डाको गाँठो जनकपुरमा गएर अल्झिएको छ । यसअघि गठबन्धनमा महानगरपालिकाको भागबण्डको गाँठो भने पोखरामा अल्झिएको थियो ।

गठबन्धनमा महानगरपालिकाको भागबण्डामा हिजो सहमति भएतापनि उपमहानगरको भागबण्डामा भने सकस देखिएको हो । गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली काँग्रेसले पोखरा महानगरपालिकामा दाबी छाडेसंगै महानगरपालिकाको भागबण्डामा सहमति भएको हो ।

मेयर पाएका दहरुले महानगरमा उपमेयर भने अन्य पार्टीलाई छोड्नुपर्ने भएको छ । ११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी हिजो छलफल भएको थियो ।

जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव गरिएतापनि कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी पेश गरेकोले गठबन्धनमा उपमहानगरको भागबण्डाको गाँठो जनकपुरमा गएर अल्झिएको हो ।

यसरी जनकपुर कसले लिने भन्ने बारेमा गठबन्धनमा सकस देखिएको हो । यस्तै माओवादी केन्द्रले घोराही र जितपुर-सिमरा पाउनुपर्ने दावी गरेको छ भने एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !