३ असार २०८१, आइतबार

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची


प्रतिनिधिसभा बैठक

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवायलयले बैठकका अनुसार आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । आजको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । यो नीति तथा कार्यक्रम पारित भएपछि यसैको आधारमा तयार पारिएको सरकारको बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुनेछ ।

सार्वजनिक भएको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची पनि रहेको छ ।

साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले “लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने विषय पनि आजको कार्यसूचीमा समेटिएको छ ।

सहकारीको रकम अपचलनबारे गृहमन्त्रीको नाम नै तोकेर संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद् चल्न नदिने बताउँदै आएको छ । समिति गठनबारे सहमति नजुटेकोले आजको बैठकमा पनि कांग्रेसले अवरोध गर्ने सम्भावना छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !