५ जेष्ठ २०८१, शनिबार

कानुनको आफूखुसी व्याख्या गर्दा बदमासहरुले जनतालाई दुःख दिने गरेका छन् : सभामुख सापकोटा

सभामुख भन्छन्- गुणस्तरीय कानुन निर्माणमा संसदको भूमिका विशिष्ट रहेको छ


अग्निप्रसाद सापकोटा nor

लुम्बिनी । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माण गर्दा थुप्रै छिद्रहरु रहने र तिनै छिद्रहरुमा खेल्दै कानुनको आफूखुसी व्याख्या गर्ने कार्यले बदमासहरुले जनतालाई दुःख दिने, सीमित वर्ग एवं शक्तिले फाइदा उठाउने गरेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको आयोजनामा लुम्बिनीमा मंगलबारदेखि शुरु भएको अन्तर व्यवस्थापिका अन्तर्क्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख सापकोटाले कानुनका छिद्रहरुको सहारा लिएर बदमासहरुले, गलत तत्वले फाइदा उठाउँने गरेको बताएका हुन् ।

उनले कानुनका छिद्रहरुको सहारा लिएर बदमासहरुले, गलत तत्वले फाइदा उठाएर सोझा सिधा जनतालाई दुःख दिने गरेकोले त्यस्ता कानुनका छिद्रहरु नराखेर गुणस्तरीय कानुन निर्माण गर्न सक्यौं भने गलत तत्वले फाइदा उठाउन नसक्ने स्पष्ट पारे।

‘कानुनका नौ सिङ भन्ने उक्ति नै छ, हामीले कानुन निर्माण गर्दा कयौं छिद्रहरु रहँदा रहेछन्’, सभामुख सापकोटाले भने, ‘हामी कानुन निर्माणको जिम्मेवारीमा छौं, हामीले बनाएका कानुनका छिद्रहरुको सहारा लिएर बदमासहरुले, गलत तत्वले फाइदा उठाउँदा रहेछन्, सोझा सिधा जनतालाई दुःख दिदा रहेछन् । हामीले त्यस्ता कानुनका छिद्रहरु नराखेर गुणस्तरीय कानुन निर्माणगर्न सक्यौं भने गलत तत्वले फाइदा उठाउन सक्दैनन् ।’

कानुन निर्माण गर्दा सचेतता अपनाउनन सके त्यसको परिणाम नराम्रो हुने भन्दै सभामुख सापकोटाले संसद र त्यसको नेतृत्व सधैं सजग, सचेत र सतर्क रहनुपर्नेमा जोड दिए ।

संसदको काम कानुन निर्माणसँगै त्यसको कार्यान्वयन भए नभएको बारे निगरानी गर्ने जिम्मेवारी पनि रहेको भन्दै सभामुख सापकोटाले संसदीय निगरानी र कानुन कार्यान्वयनका लागि सरोकारवाला पक्षलाई सचेत बनाइरहनुपर्ने बताए ।

‘कानुन सोकेसमा सजाउने वस्तु होइन, त्यसलाई कार्यान्वयन गर्नुपर्छ’, सभामुख सापकोटाले भने, ‘कानुन कार्यान्वयन भइरहेको छ कि छैन ? भएको भए कसरी भइरहेको छ भन्ने विषयमा संसदीय निगरानी गर्ने दायित्व पनि हाम्रै हो, संसदको हो ।’

उनले संसदको सचेत पहलकदमीले गुणस्तरीय कानुन निर्माणमा विशिष्ट भूमिका खेल्ने बताएका छन् । गुणस्तरीय कानुन बनाउन संसदको भूमिका विशिष्ट रहने बताएका हुन् ।

आफू संघीय संसदको नेतृत्वमा आएपछि संसदलाई जीवन्त र जनमुखी बनाउने अभियानमा प्रतिबद्ध भएर लागेको भन्दै सभामुख सापकोटाले लोकतन्त्रको प्रभावकारी प्रयोग गर्नुका साथै जनपक्षीय कानुन निर्माण गर्न सके संसद जीवन्त र जनमुखी हुने स्पष्ट पारे ।

सुशासनको मुख्य बाधकको रुपमा भ्रष्टाचार रहेको भन्दै सभामुख सापकोटाले कानुन निर्माण र कार्यान्वयनमा खबरदारी गर्दै भ्रष्टाचारका विरुद्ध लड्ने जिम्मेवारी पनि संसदकै रहेको बताए ।

‘भ्रष्ट्राचार सामान्य बजेट हिनामिना मात्रै होइन, हिसाब-किताब बिगार्ने कुरा मात्रै होइन’, सभामुख सापकोटाले भने,‘यसलाई नियन्त्रणगर्न सकेनौं भने देशलाई नै सखाप पार्छ । राष्ट्रियतालाई नै समाप्त पार्न सक्छ । त्यसैले भ्रष्टाचारविरुद्ध लड्न हामीले सामूहिक संकल्प गर्नु पर्दछ।’

संघ र स्थानीय तहमा जुन रुपमा भएपनि संसद र सरकारको अभ्यास भएपनि प्रदेश सभा नेपालको हकमा पहिलो अभ्यास भएको चर्चा गर्दै सभामुख सापकोटाले प्रदेशको नेतृत्वलाई अवसर र चुनौती दुवै रहेको बताए ।

‘तपाईंहरुले प्रदेश सभाको नेतृत्व गरिरहनुभएको छ, यो तपाईंहरुको लागि अवसर पनिहो र चुनौती पनि । प्रदेशमा कानुन निर्माणका लागि विज्ञ, दक्ष जनशक्ति वा स्रोत सामग्रीको समस्या होला तर तपाईंहरु त्यत्तिकै स्वतन्त्र पनि हुनुहुन्छ । पहिलो हुनुको नाताले तपाईंहरुले गरेका हरेक अभ्यास, शिक्षा र गतिविधिलाई ठीक ढंगले लिपिबद्ध गर्न सक्नुभयो भने त्यो भावी नेतृत्वका लागि राम्रो मार्गदर्शन बन्न सक्छ ।’

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संघीय संसद र देशैभरिका प्रदेश सभाका सभामुख र उपसभामुखलाई लुम्बिनी प्रदेशमा स्वागत गर्न पाउँदा आफूलाई निकै खुसी लागेको बताए ।

देशमा गणतन्त्र र संघीयताको लागू भएपछि मात्रै प्रदेश सभा स्थापना भएकाले आफूहरुले नयाँ प्रयोग गरिरहेको भन्दै मुख्यमन्त्री केसीले गल्ती, समस्या र अभावबाट सिक्दै र समाधान गर्दै अघि बढिरहेको बताए । प्रदेश सरकारका अधिकारसँग सम्बन्धित कानुनहरु संघले नबनाइ दिदा प्रदेश सरकारलाई केही कानुनमा समस्या भएको चर्चा गर्दै मुख्यमन्त्री केसीले संघले त्यसको बाटो खुलाइ दिनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखहरुले प्रदेश सभा सञ्चालनका लागि कर्मचारीहरुको अभाव भएको, संघीय निजामती ऐन र नागरिकता ऐन लगायत प्रदेशसँग सम्बन्धित ऐनहरु नबन्दा प्रदेशमा कानुन निर्माण समस्या भएको लगायतका विषयहरु उठाएका थिए ।

अन्तरक्रिया कार्यक्रमबाट लुम्बिनी घोषणापत्र जारी गरिने लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण घर्तीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !