१४ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धन : स्थानीय तहको बाँडफाँटबारे बसेको बैठक बिना निष्कर्ष टुंगियो


सत्ता गठबन्धनको निर्वाचन समिति फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा स्थानीय तहको निर्वाचनमा भागबण्डाबारे आज पनि सहमति जुट्न सकेन । आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समितिको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

पछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुन–कुन स्थानीय तहमा कसरी उम्मेदवार खडा गर्ने भन्ने छलफल भएको बताए । स्थानीय निर्वाचनमा नगरपालिका र गाउँपालिकामा भागबण्डाको ‘पारुप’ तय गर्ने भनेर बैठक बसेको थियो ।

मन्त्री कार्कीले स्थानीय तहमा तालमेल गरेर गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउने विषयमा छलफल भएपनि कुनै निष्कर्ष भने ननिस्किएको जानकारी दिए । आजै आइतबार बिहान बालुवाटारमै सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक पनि बसेको थियो ।

गठबन्धनमा रहेका पाँच दलहरुले स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा गरिने भनिएको भागबण्डाको तालमेलबारे भोलि सोमबारसम्म टुंग्याउने भएका छन् । गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा सोमबारसम्म टुंगो लगाइसक्ने निर्णय गरेको हो ।

बालुवाटार स्रोतका अनुसार बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय समेत भएको छ । आज आइतबार बसेको बैठकले छिटो पदहरुको बाँडफाँट गर्ने भन्ने समझदारी समेत गरेको बैठकमा सहभागी एक नेताले बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !