२२ बैशाख २०८१, शनिबार

स्थानीय निर्वाचनका लागि मतपत्र छाप्न शुरु, १ करोड ९४ लाख छापिने


मतदानको व्यवस्था

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि मतपत्र छाप्न शुरु गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छाप्न शुरु गरिएको जानकारी दिएका हुन् ।

प्रवक्ता शर्माका अनुसार जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको कार्य जारी रहेको बताएका हुन् । उनका अनुसार देशभर स्थानीय निर्वाचनको लागि १ करोड ९४ लाख मतपत्र छापिदै छ ।

जम्मा २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने छन् भने सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पा जिल्लाको छापिने छ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौं जिल्लाको छापिने छ ।

निर्वाचनमा राजनीतिक दललाई प्रचारप्रसार र मतदाता शिक्षाका लागि सहज होस् भन्ने हेतुले आयोगले १ लाख ८० हजार थान नमूना मतपत्र छपाई गरिसकेको छ । राजनीतिक दलको आधिकारिक पत्रका आधारमा ७ हजारमा देशभरको तथा ५ हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिइयो ।

जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्लाभरको ३ हजार, पालिका तहको १ हजार तथा वडाको ५०० तिरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदान नामावलीको विद्युतीयप्रति लिन सकिने व्यवस्था छ । निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको सो अवसरमा जानकारी दिइयो ।

निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण विराटनगर, धुलिखेल, बुटवल र नेपालगञ्जमा सम्पन्न भएको आयोगले जनाएको छ।

यसअघि मतपत्र छपाइभन्दा पहिला प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोग पदाधिकारी टोली सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड गएर मतपत्र मुद्रण मेसिनको क्षमता र मतपत्र छपाइ परीक्षणबारे जानकारी लिएका थिए ।

विगतमा मतदाता सङ्ख्याको १५ प्रतिशतसम्म बढी मतपत्र छपाइ हुने गरेकामा यस पटक आयोगले १० प्रतिशतमात्र बढी मतपत्र छपाउन लागेको छ । कतिपय जिल्लामा हेलिकप्टरबाट ढुवानी गर्नुपर्ने भएकाले पहिले दुर्गम क्षेत्रका लागि मतपत्र छपाइ हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !