५ जेष्ठ २०८१, शनिबार

प्रधानमन्त्री देउवा भोलि बिहीबार तनहुँ जाने


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बिहीबार तनहुँ जाने भएका छन् । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी तनहुँ जान लागेका हुन् ।

प्रधानमन्त्री देउवाले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जलविद्युत् आयोजनाको निरीक्षणपश्चात् प्रधानमन्त्री देउवाले निर्देशन दिने कार्यक्रम छ ।

त्यसपछि प्रधानमन्त्री देउवा नेपाली कांग्रेस तनहुँको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । लगत्तै उनले तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु हुने आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रजिअ अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले बिहीबार नै ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । गाउँपालिकाले रु तीन करोड ५० लाखको लागतमा प्रशासकीय भवन निर्माण गरेको हो । उक्त भवनको उद्घाटन सकेर प्रधानमन्त्री देउवा काठमाडौँ फर्किने कार्यक्रम तय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !