२१ बैशाख २०८१, शुक्रबार

एमाले संसदीय दलको बैठक नयाँ बानेश्वरमा जारी


एमाले संसदीय दलको बैठक नयाँ वानेश्वर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक जारी रहेको छ । संसदीय दलको बैठक केही समयअघि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी रहेको हो ।

संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक शुरु भएको हो । बैठकमा पार्टीको माग पूरा नगरी अधिवेशन अन्त्यलगायत विषयमा छलफल हुने भएको छ । देशमा विकसित समसामयिक राजनीतिक अवस्था र आगामी स्थानीय तहको निर्वाचनको विषयमा पनि बैठकमा छलफल हुने भएको छ ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालू अधिवेशन अन्त्यका लागि सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेकी छन् ।

यसरी सरकारले एक्कासी संसद्को चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । संसदको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । सरकारले अचानक संसदको अधिवेशन स्थगित गरेपछि पार्टीको अधिकारिक धारणा सार्वजनिक गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।

चालु हिउँदे अधिवेशन अवधिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) भने संसद्बाट अनुमोदन गर्नु काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले ठुलो उपलव्धिको रुपमा लिएको छ ।

यस्तै गत फाल्गुन २९ गते आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने प्रस्ताव पेश भएको छ । तर संसदको बजेट बजेट अधिवेशन वैशाखदेखि मात्र शुरु हुने भएकाले प्रधानन्यायाधीश जबरामाथि संसदमा पेश गरिएको महाभियोग प्रस्तावमाथिको छलफल हुन अझै महिनौ कुर्नुपर्ने भएको छ ।

एमाले संसदीय दलको बैठक नयाँ वानेश्वर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !