२२ बैशाख २०८१, शनिबार

कांग्रेस सहभागी नभए वाम गठबन्धन हुन सक्छ : मन्त्री खतिवडा


विरोध खतिवडा

गोरखा । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेससँग गठबन्धन नहुने स्थिति आए वाम गठबन्धन हुनसक्ने बताएका छन् ।

गोरखा अस्पतालको नवनिर्मित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खतिवडाले संविधानको रक्षाका लागि गरिएको वर्तमान गठबन्धनको निरन्तरता आफूहरुको पहिलो प्राथमिकताको विषय भएको उल्लेख गरे ।

“अहिलेको मुख्य आवश्यकता र प्राथमिकता कांग्रेससहितको गठबन्धन नै हो”, उनले भने, “यदि कांग्रेस गठबन्धनमा नजाने परिस्थिति आए वाम गठबन्धन हुन्छ ।” एमालेसँग भने गठबन्धन हुन नसक्ने मन्त्री खतिवडाले उल्लेख गरे ।

देशको राजनीतिक आवश्यकताले कांग्रेससँगको वर्तमान गठबन्धन निर्माण भएको उल्लेख गर्दै उहाँले निर्वाचनसम्म यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्नेमा आफूहरुको जोड रहेको बताए । “एकीकृत समाजवादी वर्तमान गठबन्धनलाई निरन्तरता दिएर अघि बढ्न चाहन्छ”, मन्त्री खतिवडाले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !