२१ बैशाख २०८१, शुक्रबार

चुनाव चिन्हको रङ राख्ने हाम्रो क्षेत्राधिकारको विषय हो : निर्वाचन आयोग

प्राविधिक कारणले मतपत्रको रङ परिवर्तन गरिएको आयोगको स्पष्टोक्ति


निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले ‘चुनाव चिह्नको रङ’ आयोगको क्षेत्राधिकारको विषय भएको स्पष्ट पारेको छ । आयोगले आगामी स्थानीय तहको चुनावमा मतपत्रमा हरियो रङको चिन्ह बनाउने निर्णयको बचाउ गरेको हो ।

प्रतिपक्षी दल नेकपा एमालेले मतपत्रमा चुनाव चिह्न हरियोमा आपत्ति जनाएपछि आयोगले यो आयोगको क्षेत्राधिकारको विषय भएको स्पष्ट पारेको हो । आज आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताएका छन् ।

आज बिहीबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता अर्यालले प्राविधिक कारणले यस्तो निर्णय गरेको बताउँदै २०७४ सालको चुनावमा प्रयोग भएको रङ निलो रहेको र स्वस्तिक छापको रङ पनि निलो भई रङमा एकरुपता भएकोमा परिवर्तन गरिएको स्पष्ट पारेका हुन् ।

आयोगले प्राविधिक कारणले आसन्न स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारेको छ । सहप्रवक्ता अर्यालले मतपत्र र स्वस्तिक छापबीचको ‘रङ भिन्नता’ छुट्याउन मात्र मतपत्र छपाइको मसी परिवर्तन गर्ने निर्णय गरिएको प्रष्ट पारे ।

आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रीन) मसीले छपाइ गर्ने निर्णय गरेको थियो । मतपत्र छपाइको मसी परिवर्तन गर्ने आयोगको निर्णयपछि दलहरुको फरकफरक प्रतिक्रिया जनाएका छन् ।

उनले मतगणनाका क्रममा समस्या ननिम्तियोस् भनेर मतपत्रमा चुनाव चिह्न हरियो रङको बनाउने तयारी गरेको बताए । उनेल चुनाव चिह्न र स्वस्तिक छापको रङ फरक पार्ने तयारी भएको बताए । गणना सजिलो बनाउन चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको आयोगको भनाइ छ।

कतिपय मतदाताले एकपटक स्वस्तिक छाप मसीमा चोपेपछि चुनाव चिन्हमा लगातार मतदान गर्दा अन्तिमतिरको चिन्हमा लगाएको स्वस्तिक छाप मधुरो हुनेजस्ता समस्या देखिएका कारण स्वस्तिक र चुनाव चिन्हको रंगमा भिन्नता गर्न रङ परीवर्तन गरिन लागिएको आयोगले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले मतपत्र छपाइको मसी प्रयोग गर्ने आयोगको निर्णयप्रति आशङ्का व्यक्त गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतपत्र छपाइको मसी परिवर्तन गर्नुका कारण स्पष्ट पार्नुपर्ने बताएका थिए । सहप्रवक्ता अर्यालले प्राविधिक कारणले मात्र स्थानीय तह निर्वाचनको मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरिएको बताए । आयोगले २०७४ सालको निर्वाचनमा मतपत्र निलो मसीले छपाइ गरेको थियो ।

मत्रपत्रमा छपाइ भएको चिह्न, विवरण तथा सुरक्षण चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा रातको समयमा गणना गर्न गाह्रो भएका कारण मात्र मसी परिवर्तन गर्ने निर्णय गरिएको उनको भनाइ छ । स्थानीय तहको निर्वाचनमा एउटा मतपत्रमा मतदाताले सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । निर्वाचन चिह्न र स्वस्तिक छापको मसी निलो हुँदा चिह्नमा छाप लागेको अवस्थामा छुट्याउन गाह्रो हुने गरेको थियो ।

आयोगको यस निर्णयप्रति कसैले पनि आशङ्का गर्नुपर्ने कारण नभएको उल्लेख गर्दै उनले कसैलाई दुविधा भए प्रष्ट पार्न आयोग तयार रहेको बताए । मतपत्र छपाइको मसी कस्तो प्रयोग गर्ने भन्ने अधिकार आयोगको रहेको भन्दै उहाँले मसी परिवर्तन नहुने सङ्केत गरे ।

सहप्रवक्ता अर्यालले मतदाता नामावली अद्यावधिकका काम भइरहेको बताए । आयोगले दोहोरिएको मतदाता नामावली हटाउने, नागरिकता त्याग गरेका र मृत्यु भएका व्यक्तिको नाम सूचीबाट हटाउनेलगायतका काम गरिरहेको छ ।

निर्वाचन प्रयोजनका लागि आवश्यक २३ प्रकारका निर्वाचन सामग्री खरिदका लागि बोलपत्र प्रक्रिया सम्पन्न भई आपूर्तिकर्तासँग सम्झौता अगाडि बढेको उनले बताए । यस्तै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली प्राप्त भएको र ती नामावलीमाथि अध्ययन भइरहेको सहप्रवक्ता अर्यालले बताए ।

स्थानीय तह निर्वाचनका लागि दल दर्ताको काम भइरहेको र निवेदन प्राप्त ८० राजनीतिक दलका निवेदनमाथि अध्ययन जारी रहेको छ । आजै आयोगले राजनीतिक दल दर्तासम्बन्धी निर्णय गर्ने जनाएको छ ।

उनले निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग तत्कालका लागि सहज नभएको बताएका छन् भने विदेशमा रहेका नेपालीलाई मतदानको सुविधा दिन पनि व्यवहारिक रुपमा कठिनाई हुने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !