१४ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचनमा केन्द्रित हुन माधव नेपालको आह्वान


माधवकुमार नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सिङ्गो पार्टी पङ्क्तिलाई पूर्ण उत्साहका साथ स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका छन् ।

पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा केन्द्रित हुन आह्वान गरेका हुन् ।

साथै बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले पार्टी पङ्क्तिलाई एकताबद्ध भएर अघि बढ्न अपिल गरेका थिए । बैठकमा राजनीतिक प्रतिवेदनका अतिरिक्त सम्पर्क मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिका पनि छलफलका लागि प्रस्तुत गरिएको थियो ।

बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन र मञ्च सञ्चालन निर्देशिका र मोर्चा सङ्गठन सञ्चालन निर्देशिकामाथि छलफल गरी सुझाव प्रस्तुत गर्न केन्द्रीय सदस्यहरूलाई नौ वटा समूहमा विभाजन गरिएको तथा समूह छलफल जारी रहेको पार्टीका महासचिव डा. बेदुराम भुसालले बताए । समूह छलफलका निष्कर्षहरू बिहीबारको बैठकमा प्रस्तुत गरिने जानकारी पनि उनले दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !