१४ बैशाख २०८१, शुक्रबार

प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन


संसद बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा(३) र (४) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिमको महाभियोग शिफारिस समिति गठन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

महाअभियोग सिफारिस समितिमा एमाले बाट ४ जना, कांग्रेस र माओवादीको तर्फवाट २/२, एकीकृत समाजवादी, जसपा र लोसपाका १/१ जना रहेका छन् । संसद्को बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सो समितिका लागि आफ्नातर्फबाट नाम दिएको छ ।

११ सदस्यीय सिफारिस समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) बाट लालबाबु पण्डित, बिष्णु पौडेल, डा.शिव माया तुम्वाहाङ्फे र कृष्णभक्त पोखरेल, सत्तारुढ दल नेपाली कांग्रेसबाट मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, लोसपाबाट एकवाल मियाँ, नेकपा (एस) बाट कल्याणी कुमारी खड्का, जसपाबाट प्रमोद शाह, नेकपा(माओवादी केन्द्र)बाट यशोदा गुरुङ सुवेदी र रेखा शर्मा रहेका छन् ।

प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिश समिति गठन गरिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि यही फागुन १ गते कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता भएको थियो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आ.ब.२०७७/७८’ पेश गरेका थिए ।

यसैबीच, आजको बैठकमा सभामुख सापकोटाले नेकपा(एमाले)का सांसद मोहन बानियाँ यही फागुन १६ गते देखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेको भन्ने व्यहोराको जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराएका थिए ।

प्रतिनिधि सभाको आजको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरुले सदा झैं नाराबाजी गर्दै रोष्ट्र गराउ गरेका थिए । प्रतिनिधिसभाको आईतबारको बैठक यही फागुन २९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !