२३ बैशाख २०८१, आइतबार

नयाँ बानेश्वरमा माओवादी संसदीय दलको बैठक जारी


माओवादी संसदीय दलको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा माओवादी केन्द्रको संसदीय दलको बैठक जारी रहेको हो ।

बैठकमा सत्ता गठबन्धनको निर्णयमाथि छलफल जारी रहेको हो । सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरेपछि माओवादीले बैठक डाकेको हो ।

यद्यपि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका छन् । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !