२५ बैशाख २०८१, मंगलबार

दुई चरणमा प्रतिनिधिसभाको बैठक बसेर एमसीसी आजै पास हुने


सत्ता गठबन्धनको बैठक

काठमाडौँ । प्रतिनिधिसभामा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता आजै अनुमोदन हुने भएको छ । एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा आजै पास गर्ने सत्ता गठबन्धनमा सहमति भएको हो ।

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धनमा सहमति जुटेको जानकारी दिए । सत्ता गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गरेको नेता पौडेलले बताए ।

व्याख्यात्मक घोषणासहित एमसीसीलाई आजै अनुमोदन गर्ने निर्णय सत्ता गठबन्धनले गरेको हो । यद्यपि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमा निर्णय गर्न बाँकी रहेको भन्दै समय मागेका थिए ।

यद्यपि व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने गठबन्धनको तयारीप्रति माओवादी केन्द्रका केहि नेताले असहमति जनाएका छन् । माओवादीका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका हुन् ।

नेकपा (माओवादी केन्द्र) एमसिसी सम्झौतामा व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । आज बिहान प्रचण्ड निवास खुमलटारमा बसेको नेताहरुको बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो ।

आज प्रतिनिधिसभाका दुई वटा बैठक राख्ने सरकारले तयारी गरेको छ । पहिलो बैठकमा एमसीसी छलफलका लागि पेश गर्ने र दोस्रो बैठकले अनुमोदन गर्ने रणनीति सरकारले अवलम्वन गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !