२३ बैशाख २०८१, आइतबार

एमसीसी अनुमोदन गर्ने बारेमा माओवादी जुट्यो आन्तरिक छलफलमा


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदन गर्न नेकपा (माओवादी केन्द्र) आन्तरिक छलफलमा जुटेको छ ।

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा अनौपचारिक बैठक जारी रहेको छ भने परिमार्जनसहित एमसीसी पारित गर्न माओवादी नेताहरू पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जुटेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी पारित गर्नका लागि गठबन्धन सहमति नजिक पुगेका छन् । परिमार्जनको ड्राफ्ट समेत तयार भइसकेकोले सो विषयमा छलफल गर्न माओवादी नेताहरू छलफलमा जुटेका हुन् ।

एमसीसी पारित गर्ने विषयमा माओवादीमा देखिएको दुई धारमध्ये एक पक्ष अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी सम्झौतालाई पारित गर्न नसकिने अडानमा रहेको छ भने अर्को पक्ष भने वर्तमान सत्ता गठबन्धनलाई जोगाउनका लागि एमसीसीको विषयमा थप लचक देखिएको छ ।

खुमलटारमा जारी बैठकमा संसद्बाट विवादित विषयमा ‘व्याख्यात्मक घोषणा’सहित एमसीसीसम्बन्धि पुरक प्रस्तावलाई अनुमोदन गर्नेबारे छलफल भइरहेको छ । एमसीसी सैन्य रणनीति नभएको, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुने, लेखापरीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्नेलगायत विषयमा व्याख्यात्मक घोषणा गर्नुपर्ने प्रस्तावमाथि छलफल भइरहेको छ ।

प्रतिनिधिसभा बैठक आज आइतबार दिउसो १ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकका लागि एमसीसी सम्भावित कार्यसूचीमा राखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !