२० बैशाख २०८१, बिहिबार

देउवा-ओली बालुवाटार निष्कर्षविहीन : एमालेको अडान कायमै


शेरबहादुर देउवा र केपी शर्मा ओली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच संसद्को जारी अवरोध खुलाउने र एमसिसी सम्झौता अनुमोदनको वातावरण बनाउने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री देउवाले सबैको सहयोगमा संसद्बाट एमसिसीलाई अनुमोदन गरौँ भनेर प्रस्ताव गरेका थिए । जवाफमा अध्यक्ष ओलीले जुन कारणले आफूहरुले संसद् अवरुद्ध गरिरहेको हो पहिला त्यसको निराकरण गर्नुपर्ने विषय राखेकोले आजको वार्ता निष्कर्षविहीन भएको हो । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसद पदमुक्त भएको सूचना सभामुखले टाँस नगरेको भन्दै छ महिनादेखि संसद् अवरुद्ध गर्दै आइरहेको छ ।

लामो समयदेखि अवरुद्ध रहेको संसद्लाई व्यवस्थित ढङ्गले सञ्चालनका गर्नका निमित्त प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दलका नेतासँग संसद् भवन र बालुवाटारमा लामो छलफल गर्नुभएको उनले जानकारी दिए । संसद्लाई प्रभावकारी बनाउन दलहरुसँगको छलफल जारी रहने उनको भनाइ छ ।

“संसद्लाई सञ्चालन गर्नका निमित्त प्रधानमन्त्रीले अधिकतम प्रयत्न गरिरहनुभएको छ, संसद्मा अवरोध हटाउने प्रतिबद्धता उहाँहरु (एमाले)ले जनाउनुभएको छैन”, उनले भने । सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भोलि बस्ने संसद्को बैठकमा एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल शुरु हुने र गहन सहमतिबाटै निष्कर्षमा पुर्याइने बताउए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !