२१ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवा र ओलीबीच साँझ ७ बजे पुनः छलफल हुने


शेरबहादुर देउवा र केपी शर्मा ओली बालकोट फाइल फोटो

काठमाडौं । संघीय संसद भवन नयाँ वानेश्वरमा नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वीच भएको वार्ता सकिएको छ ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज साँझ ७ बजे पुनः छलफल हुने भएको छ । आज बिहीबार संसद् भवनमा भएको छलफलपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बेलुकी ७ बजे दुई नेताबीच छलफल हुने बताए ।

उनका अनुसार संसद् भवनमा भएको छलफलमा प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पारित गर्न सहयोग गर्न आग्रह गरेकोमा ओलीले आन्तरिक छलफल गरेर बेलुकी छलफल गर्ने बताएको थापाले जानकारी दिए । देउवानिकट काँग्रेस स्रोतका अनुसार अव साँझ हुने छलफललाई सत्ता सहकार्यको निर्णायक प्रयासका रूपमा भएको बुझिएको छ ।

संसद बैठक नै स्थगित गरेर प्रमुख सतारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेका शीर्ष नेताहरु आपसी संवादमा जुटेका थिए । आज भएको छलफलमा कांग्रेसका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र सांसद गगन थापा तथा एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी रहेका थिए ।

प्रधानमन्त्री देउवा संसदमा पेश भएको एमसीसी जुनसुकै गठबन्धन गरेर जसरी भएपनि पास गर्न चाहन्छन् । राजनीतिक दलका शीर्ष नेताहरुबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास जारी रहेको छ ।

आज बिहीबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच एमसीसीका बारेमा सहमति जुटाउने प्रयास भएपनि निष्कर्षमा पुगेको थिएन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवावीच बालुवाटार भेटवार्तामा प्रचण्डले देउवालाई यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने भएकोले संसदमा थाती राख्न अनुरोध गरेका थिए ।

प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी छलफलका लागि पेश गरिने कार्यसूची छलेर अर्थमन्त्री जनार्दन शर्मालाई पर्वतको सदरमुकाम कुस्मा प्रचण्डले पठाएपछि देउवा उनीसँग आक्रोशित भएका छन् ।

यसअघि गत आइतबारको प्रतिनिधिसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता संसदमा टेवुल गरेका थिए । सो दिन पनि अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता पेश गरेका थिए ।

देउवा र ओलीवीच यसअघि भएको बालुवाटार वार्तामा भित्रभित्रै ‘जेन्टल एग्रिमेन्ट’ भएको भन्ने चर्चा चल्न थालेको थियो । एमसीसी संसदमा टेवुल गर्न दिने तर अनुमोदन गर्न नदिने प्रचण्ड र माधव नेपालको दोहोरो चरित्रले देउवा वाक्कदिक्क भईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !