१९ बैशाख २०८१, बुधबार

एमसीसीलाई गठबन्धनले गिजोलेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्यो : अध्यक्ष ओली


केपी शर्मा ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई गिजोलेर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेलेको बताएका छन् ।

आजको संसद बैठकमा सरकारले संसदमा एमसीसी टेवुल गरेपछि सिंहदरवारस्थित संसदीय दलको बैठकमा आफ्ना पार्टीका सांसदहरुसंग अन्तर्क्रिया गर्दै अध्यक्ष ओलीले नेपाल विदेशीहरुको चलखेलको केन्द्र बनेपछि मात्र सत्ता गठबन्धनले एमसीसी सम्झौता संसदमा पेश गरेको बताएका हुन् ।

ओलीले एमसीसीलाई विगतमा आफूविरुद्धको हतियार बनाउनेहरुले अहिले मुलुकलाई विदेशीको क्रिडास्थल बनाउन खोजेको समेत बताए । आफ्नो पार्टी संसदीय प्रक्रियाबाटै विमुख भएकाले एमसीसीबारे कुरा राख्न नपाएको बताए ।

ओलीले परमादेशीलाई जनादेशले विस्थापित नगर्दासम्म मुलुक यस्तै संकटमा फस्ने बताए । ओलीले आफू प्रधानमन्त्री भएकै समयमा एमसीसी पारित गरिएको भए अहिले यस्तो अवस्था नआउने बताए ।

अहिले चीन र अमेरिका प्रत्यक्ष रुपमा कुटनैतिक शीतयुद्धमा उत्रिएपछि सरकारले एमसीसी संसदमा टेवुल गराएको ओलीको विश्लेषण थियो । ओलीले सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएकोले आफ्नो पार्टीले संसदीय प्रक्रियामा भाग लिएमा सो विषयमा स्ट्याण्ड लिने पनि बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !