४ जेष्ठ २०८१, शुक्रबार

मन्त्री अधिकारीले भने, ‘पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने बनाऔँ’


rabindra adhikari

५ वैशाख, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पशुपति क्षेत्र विकास कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा बुधबार पशुपतिमा आयोजित कार्यक्रममा बोल्दै पशुपति क्षेत्र गइरहुँ, बसिरहुँ लाग्ने गरी पूर्वाधार निर्माण गर्न छ महिनाभित्रमा गुरुयोजना बन्नुपर्ने बताएका छन् ।

उनले विश्व सम्पदा सूचीमा सूचीकृत भएको पशुपति क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्ने कार्यक्रम बनाउन सुझाव दिए । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री अधिकारीले धार्मिक क्षेत्रलाई व्यापारिक थलो बनाउन नहुने बताए ।

रुद्राक्ष, कपूरलगायत पाँच हजार धार्मिक प्रजातिका बिरुवा रोप्ने गृहकार्य थाल्न पनि उनले कोषका पदाधिकारीलाई निर्देशन दिए । “पशुपतिमा काम गर्नेको मन, भावना शुद्ध हुनुपर्छ, आउँदो आर्थिक वर्षलाई सम्पदा पुनःनिर्माणको वर्ष घोषणा गरिँदैछ, आर्थिक वर्ष २०७५-७६ मा भूकम्पले भत्किएका ८० प्रतिशत सम्पदा पुनःनिर्माण भइसक्ने गरी कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय लागेको छ, २० प्रतिशत सम्पदा निर्माणको काम आर्थिक वर्ष २०७६-७७ सम्म सकिने छ”, मन्त्री अधिकारीले बताए ।

प्राचीन रुपमा निर्माण भएका पशुपतिका संरचना नबिगारी पूर्वीय दर्शन र संस्कृतिको अध्ययनका लागि कोषले विश्वविद्यालय नै चलाउने कार्यक्रम बनाउन पनि उनले अनुरोध गरे ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई विश्वका वैदिक सनातन धर्मावलम्बीको आकर्षणको केन्द्र बनाउने गरी पूर्वाधार निर्माणलगायत सुधारका कामको तयारी गरिएको जानकारी दिए ।

कोषका पूर्व कोषाध्यक्ष तारानाथ सुवेदीले पारदर्शी भएर काम गर्न नसके धार्मिक संस्थाका प्रति जनताले विश्वास नगर्ने भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए । कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले समसामयिक रुपमा ऐन संशोधन गरिनुपर्नेमा जोड दिए ।-रासस


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !