१५ बैशाख २०८१, शनिबार

एमसीसी संसदमा टेवुल गर्न सत्ता गठबन्धनमा सहमति


सत्ता गठबन्धनको बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज बस्ने प्रतिनिधिसभाको बैठकमा टेवुल गर्न सत्ता गठबन्धनमा सहमति भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा टेवुल गर्ने सहमति भएको हो ।

आजको शीर्ष नेतृत्वको वालुवाटार छलफलका सम्बन्धमा अध्यक्ष प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनि हाल लामो समयदेखि सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेवल नभएको अवस्थामा सभामुखलाई एमसीसी मात्र टेवल गर भन्नु उपयुक्त नहुने कुरा प्रष्ट राखेको बताइएको छ ।

प्रचण्डले यदि तपाईं एमसीसी टेवल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेतापनि प्रधानमन्त्री देउवाले भने टेवल गरेर प्रक्रियामा लैजाने अडानमैं कायम रहेको स्थितिमा आ-आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड गलेर सहमतिमा आउन बाध्य भएका छन् भने प्रधानमन्त्री देउवाले जे भने त्यहि भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठकमा एमसीसी संसद्मा टेबल गर्ने सहमति जुटेसंगै प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो १ बजे बस्न लागेको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेका छन् ।

यस्तै आजै बस्न लागेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद् बैठकको कार्यसूची तय गर्नेछ । सत्ता गठबन्धनमा सहमति जुटेसँगै कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसी टेबल गर्ने लगायत कार्यसूची तय गर्नेछ ।

आज गठबन्धनको बैठकले एमसीसी संसदमा टेवुल गर्ने कि नगर्ने भन्ने अन्योलमा रहेको विषयमा साझा धारणा तय गरी बैठक तार्किक निष्कर्षमा पुगेको छ । तर सत्ता गठबन्धनले संसदमा एमसीसी पेश गरेपनि अनुमोदन भने स्थानीय निर्वाचन सकिएपछि मात्र गर्ने रणनीति अवलम्वन गर्न सक्ने प्रवल सम्भावना रहेको छ ।

अव देउवा सरकारले संसदमा एमसीसी पेश गर्यौ अव स्थानीय तहको निर्वाचनपछि मात्र अनुमोदन गर्छौ भनेर एमसीसीको मुख्यालयलाई जानकारी गराउन फेरि पत्र लेख्न सक्छ जसले गर्दा ‘सर्प पनि मरेन लट्ठी पनि भाँचिएन’ भनेझैँ सत्ता गठबन्धन पनि कायमै रह्यो र अमेरिकाले पनि केहि हदसम्म सकारात्मक लिनसक्छ ।

सरकारले आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेसंगै फागुन १६ गतेभित्र एमसीसी टुङ्गो लगाउनै पर्ने दबाबमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत महसुस भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट गई प्रधानमन्त्री देउवाले अपनाएको रणनीतिले उनको सरकार पनि जोगिएको छ भने सत्ता गठबन्धन पनि तत्कालै नटुट्ने देखिएको छ ।

नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरस्थित अर्याल होटलमा एमसीसीबारे ठोस धारणा बनाउन हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको थियो । तर एमसीसीलाई संशोधन नगरी यथास्थितिमा पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको थियो ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भई रहेको बेला नेकपा (एस) ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो अवलम्वन गर्ने रणनीति अपनाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदमा टेवुल गराउन लागि परेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा तीब्रता दिएपछि यसअघि संसद्‌मा टेबुल गर्न नदिने अडान लिंदै आएको नेकपा (एस) गलेको हो ।

एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि नेकपा (एस) र नेकपा (माओवादी केन्द्र) बीचको बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिन सहमत भएका हुन् । यस्तै सत्ता गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) मा एमसिसीको विषयलाई लिएर दुई मत देखिएतापनि एमसीसी संसदमा टेबुल गर्न दिने विषयमा सहमत भएको छ ।

नेपालको राजनीतिमा केहि समयअघिसम्म केन्द्रमा रहेका प्रचण्डको दोहोरो चरित्रले उनी आफै शिकार भएका छन् भने प्रधानमन्त्री देउवाको जे छ त्यहि देखाउने राजनीतिक चरित्रले उनी नेपाली राजनीतिको केन्द्रमा देखिएका छन् । प्रधानमन्त्री देउवाको रणनीति तत्कालको लागि सफल देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !