१४ बैशाख २०८१, शुक्रबार

एमसीसीबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक शुरु


सत्ता गठबन्धनको बैठक

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक शुरु भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक केहि समयअघि शुरु भएको हो ।

आज बस्न लागेको गठबन्धनको बैठकले एमसीसी संसदमा टेवुल गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने बुझिएको छ । एमसीसी बारेमा साझा धारणा बनाउन यसअघि पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै टुंगिदै आएका छन् ।

संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज बस्न लागेकाे प्रतिनिधिसभा बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई समावेश गरिएको छैन ।

सरकारले आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकिरहेको छैन । सरकारले फागुन १६ गतेभित्र एमसीसी टुङ्गो लगाउनै पर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवासामू छ ।

नेकपा (एकीकृत समाजवादी) को नयाँ बानेश्वरस्थित अर्याल होटलमा एमसीसीबारे ठोस धारणा बनाउन हिजो बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्न नरोक्ने निर्णय गरेको छ । तर एमसीसीलाई संशोधन नगरी यथास्थितिमा पारित गर्न नसकिने स्थायी कमिटीले सर्वसम्मत रुपमा निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

एमसीसीलाई लिएर सत्तारुढ गठबन्धनबीच नै खटपट भई रहेको बेला नेकपा (एस) ले गठबन्धन जोगाउने मध्यमार्गी बाटो अवलम्वन गर्ने रणनीति अपनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी संसदमा टेवुल गराउन लागि परेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग संवादमा तीब्रता दिएपछि यसअघि संसद्‌मा टेबुल गर्न नदिने अडान लिंदै आएको नेकपा (एस) गलेको हो ।

एमाले र कांग्रेसबीचको सम्भावित वैकल्पिक गठबन्धनको बन्‍ने जोखिम भएपछि नेकपा (एस) बीचको बाटो अपनाउँदै एमसीसी टेबुल गर्न दिने निर्णयमा पुगेको हो । यस्तै नेकपा माओवादी पनि एमसीसीलाई संसद्मा टेवुल गर्न दिने सम्मको निर्णयमा पुग्नुपर्ने बाध्यता भएकोले उक्त विषयमा सहमत हुने सक्ने माओवादी स्रोतले नेपालपत्रलाई जानकारी दिएको छ ।

यदि सत्ता गठबन्धनको आज बस्ने बैठकले एमसीसी संसद्‌मा टेबुल गर्ने विषयमा सहमत भएर साझा धारणा तय गरेमा कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदको कार्यसूचीमा एमसीसी समावेश गर्ने प्रवल सम्भावना रहेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकपछि आज दिउसो बस्ने संसदको बैठकमा एमसीसी टेवुल हुनेछ ।

यस्तै सत्ता गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टी (जसपा) मा एमसिसीको विषयलाई लिएर दुई मत देखिएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव एमसीसीको वारेमा राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै यथास्थितिमा एमसिसी संसदवाट पास गर्नु नहुने पक्षमा देखिएका छन् भने उक्त पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन् ।

यस्तै सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले पनि राष्ट्रिय सहमति हुनुपर्ने अडान राख्दै यथास्थितिमा एमसिसी संसदवाट पास गर्नु नहुने पक्षमा देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु