४ जेष्ठ २०८१, शुक्रबार

एमसीसीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा शुरु


सत्ता गठबन्धनको बैठक

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

केहि समयअघि बालुवाटारमा शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्ने लगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज शुक्रबार पुनः बसेको हो । प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो साँझ बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको थियो ।

हिजोको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको मन्त्री कार्कीले जानकारी दिए ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता बुधबार टेबल गर्ने तयारी गरेको भएपनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा आज शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।

हिजोको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिएका थिए । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उनको अभिमत थियो ।

तर माओवादी केन्द्रले एमसीसी जबरजस्ती संसदमा अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अस्ति बसेको बैठकले एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय गरेको थियो ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी जबर्जस्ती संसदमा टेवुल गराएर अघि बढाए विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको छ । सचिवालय बैठकले निकालेको उक्त निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट आधिकारिक निर्णय गर्ने तयारी एकीकृत समाजवादीले गरेको छ ।

यथास्थितिमा एमसीसी संसदवाट पास गर्न नसकिने भन्दै अडान राख्दै आएका यी दुई नेताहरुवीच यदि सरकारले एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने तयारीसम्मको छलफल भएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेवुल गराएर जबर्जस्ती पास गर्न खोजेमा सरकारवाट बाहिरिनसम्मको तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवा एमसीसी संसदमा टेवुल गर्ने पक्षमा छन् भने प्रचण्ड र नेपाल यसको बिपक्षमा रहेका छन् । सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा आज बस्ने सत्ता गठबन्धनको बैठकले निर्णय गर्ने भएकोले यसबैठकको निर्णय के आउछ भनेर आम नेपाली जनताहरुले विशेष चासोका साथ कुरिरहेका छन् ।

गठबन्धनको बस्ने भनिएको यो अन्तिम बैठकले नै सत्ता गठबन्धन कायम रहने वा नरहने भन्ने बारेमा पनि भविष्य निर्धारण गर्ने बुझिएको छ । सत्ता गठबन्धनका दलहरु आ-आफ्ना अडानमा कायमै रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना न्यून रहेको छ । एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न हिजो उनको निवास बालकोट पुगेका थिए । हिजो बिहीबार गठबन्धनको बैठक सकिएलगत्तै देउवा बालुवाटारबाट सिधै राति ८ बजे बालकोट ओलीको शरणमा देउवा पुगेका थिए ।

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न पत्नी आरजु देउवा राणालाई लिएर बालकोट जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गठबन्धनको बैठक आज शुक्रबार बिहान डाकेर देउवा हिजो विहीबार बेलुकी पत्नी आरजुसहित ओली निवास बालकोट पुग्नुले राजनीतिक तंरग पैदा भएको छ भने प्रचण्ड र नेपाललाई एमसीसीमा सहमत हुन नैतिक दवाव बढेको छ ।

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओलीलाई भेट्न बलकोट पुगेका थिए । भेटपछि देउवाले चाल्ने भावी कदमलाई राजनतिक वृत्तमा महत्वका साथ हेरिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवा एमसीसी सम्झौताका विषयमा छलफल गर्न बालकोट पुगेका थिए ।

नेपाली कांग्रेस बाहेकका सत्ता गठबन्धनका दलहरु माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा सत्ता गठबन्धनको बैठक बस्नुअघि साझा धारणा बनाउन छलफल गरेका छन् ।

यो पनि पढ्नुहोस्

तनावमा देउवा : संसदको भोलिको बैठकको कार्यसूचीमा परेन एमसीसी

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न गए बालकोट

सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो

एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने प्रचण्ड र नेपालको तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !