५ जेष्ठ २०८१, शनिबार

एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने प्रचण्ड र नेपालको तयारी


प्रचण्ड-नेपाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवुल गराएर जबर्जस्ती पास गर्न खोजेमा सरकारवाट बाहिरिने तयारी गरेका छन् ।

सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड र नेपालवीच एमसीसी लगायतका विषयमा छलफल भएको हो । एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको निर्णायक छलफल हुनुअघि दुई नेताबीच छलफल भएको हो ।

माओवादी केन्द्रले एमसीसी जबरजस्ती संसदमा अघि बढाइए विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले एमसीसी जबरजस्ती अघि बढाइए विपक्षमा मतदान गर्ने माओवादीको निर्णय गरेको हो ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पनि एमसीसी जबर्जस्ती संसदमा टेवुल गराएर अघि बढाए विपक्षमा मतदान गर्ने निष्कर्षमा पुगेको छ । सचिवालय बैठकले निकालेको उक्त निष्कर्षलाई शनिबार बस्ने स्थायी कमिटीबाट आधिकारिक निर्णय गर्ने तयारी एकीकृत समाजवादीले गरेको छ ।

यथास्थितिमा एमसीसी संसदवाट पास गर्न नसकिने भन्दै अडान राख्दै आएका यी दुई नेताहरुवीच यदि सरकारले एमसीसी जबर्जस्ती अघि बढाए सरकारवाट बाहिरिने तयारीसम्मको छलफल भएको हो ।

यदि वर्तमान सत्ता गठबन्धन तोडिए आगामी स्थानीय निर्वाचनमा एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपा सहित दलहरुसँग मिलेर चुनावमा जानेसम्मको छलफल भएको हो ।

यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अलमल्याउने र धोका दिने रणनीति अख्तियार गरेको भन्दै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग संवाद अघि बढाएको छ । कांग्रेस र एमाले मिलेर प्रदेशमा सरकार गठन गर्ने र केन्द्रमा चुनावी सरकारलाई सहयोग गर्ने बारेमा पनि संवाद अघि बढेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !