१४ बैशाख २०८१, शुक्रबार

एमालेद्वारा फागुन २ बस्ने भनिएको संसद बैठक स्थगित गर्न आग्रह


नेकपा (एमाले)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गर्न आग्रह गरेको छ । एमालेले संसद् सचिवालयमा बैठक स्थगित गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर गत माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको पूर्वनिर्धारित बैठक सार्न आग्रह गरेपछि बैठक फागुन २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेले फागुन २ गते नै प्रदेशस्तरीय भेला राखेका कारण त्यसदिन बैठक नराख्न संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाका सचिवालयका सचिव गोपालनाथ योगीलाई आग्रह गरेको हो । गत असोज ३ गते यता लगातार संसदमा अवरोध जारी राखेको संसदको सबैभन्दा ठूलो पार्टीले नै संसद बैठक स्थगित गर्न माग गरेपछि सभामुख फेरि अप्ठेरोमा परेका छन् ।

एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न सचिवमार्फत् आग्रह गरेका हुन् । उनले पूर्वनिर्धारित सो कार्यक्रम एकदमै महत्वपूर्ण भएकाले त्यो दिन बस्ने भनिएको संसद् बैठक स्थगित गरिदिन आग्रह गरेको हुन् । संसद सचिवालयले एमालेलाई सभामुखलाई जानकारी गराएपछि बैठक सर्ने नसर्ने विषयमा जानकारी दिने बताएको छ ।

प्रधानमन्त्री देउवाले बुधबारको बस्ने भनिएको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेतापनि सत्तारुढ गठबन्धनभित्रै सहमति भने जुटन नसकेर एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको बताइएको छ ।

यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा आएर १० दिनका लागि स्थगित गरिएको थियो । यसअघि माघ १६ गतेका लागि तय भएको बैठक कोरोना संक्रमण जोखिमको कारण देखाएर अन्तिम समयमा स्थगित गरेर भोलिका लागि तय गरिएको थियो ।

बुधबारको बैठकका लागि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद सचिवालयले पनि प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरेको थियो ।

यो पनि पढ्नुहोस्

देउवाको आग्रहमा प्रतिनिधिसभाको बैठक फागुन २ गतेसम्म स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु