२१ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचनको मितिविरुद्धको रिटमा दरपीठ, वैशाख ३० मै निर्वाचन हुने


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले सरकारले आगामी बैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको मितिविरुद्धको रिट निवेदन दरपीठ गरेको छ । स्थानीय निर्वाचन तत्काल गर्न नमिल्ने भन्दै महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहले सर्वोच्च अदालतमा दिएको निवेदन दरपिठ भएको हो ।

अदालतका रेजिष्ट्रारले निवेदन बिना आधार प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गरेका हुन् । साहले पाँच वर्ष कार्यकाल पूरा गर्न पाउनुपर्ने माग गर्दै दायर गरेकोमा रिटमा सर्वोच्च प्रशासनले अध्ययन गरेर दर्ता गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

मधेस प्रदेशका स्थानीय तहमा २०७४ असोज २ मा निर्वाचन भएको थियो । त्यसको ५ वर्ष नपुग्दै सरकारले आगामी बैशाख ३० मा निर्वाचन गराउने घोषणा गरेपछि साहले त्यसविरुद्ध निवेदन दिएका हुन् । सर्वोच्चले रिट निवेदन अस्वीकार गरेसँगै वैशाख ३० मै एकैचरणमा स्थानीय चुनाव हुने निश्चित भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !