१ मंसिर २०८१, शनिबार

प्रचण्डको हारगुहार : प्रतिक्रियावादीहरू सखाप पार्न लागे, माओवादीहरू एकजुट हुऔं

शुरु भयो प्रचण्डको रुवाबासी र हारगुहार


प्रचण्ड

पृष्ठभूमि : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादीहरू घेरा हालेर सखाप पार्न लागेकोले माओवादी शक्तिहरू एकजुट हुन आवश्यक बताएका छन् । आम नेपाली जनता र राजनीतिक पार्टीहरुलाई झुक्याउदै एमसीसीमा हस्ताक्षर गरेपनि गरेको छैन भनेर विगतमा अभिव्यक्ति दिएकोले प्रचण्डको रुवाबासी र हारगुहार शुरु भएको हो ।

अध्यक्ष प्रचण्डले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जुम्ला जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवासहित पाँच दर्जन नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएका हुन् ।

उनले ढिलोछिटो माओवादीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताउदै परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र जनताको भाग्य-भविष्यका लागि अझै लड्न माओवादी शक्तिहरू एकजुट हुनुपर्ने उनको भनाइ रहेको छ ।

‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन्’, उनले भने, हामी यति ठूलो परिवर्तनका बहाकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

उनले भने, ‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन ।’ दाहालले नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए ।

उनले अहिले विस्तारै विभाजनका घाउहरू बिर्सिदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादीहरू एक ठाउँमा केन्द्रित हुँदै गएको बताए । चन्द नेतृत्वको नेकपाको जुम्ला जिल्ला समिति नै माओवादीमा समाहित भएको दाहालको सचिवालयले जनाएको छ ।

प्रचण्डको द्वैध चरित्र

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) लाई पत्र पठाएको खुलासा भएपछि आजकल प्रचण्ड तनावमा छन् । देउवा र प्रचण्डले संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाई एमसीसीलाई लिखित पत्र नै पठाएको खुलासा भएको हो ।

यसअघि देउवाले एमसीसीलाई पत्र पठाएको भनेर संकेतसम्म दिएका थिए भने प्रचण्डले सो कुरालाई अस्वीकार गर्दै आएका थिए । गत कात्तिक १८ गते स्कटल्यान्डको ग्लास्गोमा जारी कोप-२६ मा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड र आफूले एमसीसी कार्यान्वयनको प्रतिवद्धता जनाई एमसीसीलाई पत्र पठाएको खुलासा गरेका थिए । तर प्रचण्डले भने एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता सहितको पत्र नपठाइएको जिकिर गर्दै आएका थिए ।

प्रचण्डले एमसीसीसँगको सम्झौतालाई लिएर खेलेको दोहोरो आपत्तिजनक भूमिका भएको भनेर स्वयं पार्टीका नेताहरुले र सामाजिक संजालमा उनको आलोचना गर्न शुरु भएको छ । एमसीसीलाई पत्र लेख्ने तर लेखेको छैन भनेर बाहिर मिथ्या भाषण गर्दै हिडेकोले उनको फेरि पतनको दिन शुरु भएको अनुमान गर्न थालिएको छ ।

प्रचण्डको यस्तो दुई जिब्रे प्रवृतिले उनको व्यक्तिगत छवि त गिर्यो नै तर देशकै अन्तर्राष्ट्रिय गरिमा र विश्वसनीयतामा समेत प्रश्नचिन्ह खडा भएको छ । भूतपूर्व प्रधानमन्त्री समेत भएको जिम्मेवार पार्टीको अध्यक्षले ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्नु आपत्तिजनक हो ।

नेपालीमा एउटा उखान छ, ‘दु:ख पाइस मंगले, आफ्नै ढंगले’ भनेझैँ आफ्नै द्वैध चरित्रले वर्तमान अवस्थामा आलोचनाको शिकार बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रवृतिलाई यो उखानसंग तुलना गर्न सकिन्छ ।

प्रचण्डको प्रवृतिप्रति नेताहरुको टिप्पणी

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति व्यंग प्रहार गर्दै भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै भट्टराईले प्रचण्डलाई थप व्यंग प्रहार गर्दै माछा देखेभित्र हात, सर्प देखे बाहिर हात र भित्र खाओवाद बाहिर माओवाद भनेर प्रचण्डको प्रवृतिप्रति भण्डाफोर पनि गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेखेकोमा जनतासँग माफी माग्नुपर्ने बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले एमसीसी पदाधिकारीलाई पत्र लेख्नु कुटनीतिक मर्यादा विपरित रहेको पनि टिप्पणी गरेका छन् ।

थापाले प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसीका पदाधिकारीलाई २९ सेप्टेम्बर २०२१ मा लेखिएको पत्र कुटनीतिक मर्यादा विपरीत रहेको बताएका हुन् । एमसिसीलाई पठाएको पत्र कानुन, संविधानको स्थापित मान्यता एवं राष्ट्रहित प्रतिकुल रहेको उनको दावी रहेको छ । उक्त पत्र अहिलेसम्म गोप्य राख्नु आपत्तिजनक रहेको भन्दै उनले उनीहरूले जनता समक्ष माफी माग्नुपर्ने बताएका हुन् ।

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक संजाल ट्वीटरमा लेख्दै देश गम्भीर संकट उन्मुख भएकोमा चिन्ता प्रकट गरेका छन् । मिश्रले देशको बहालवाला प्रधानमन्त्री देउवा र भूतपूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका प्रचण्डले ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेखेकोमा आपत्ति व्यक्त गरेका पनि छन् ।

एमालेका नेता भीम रावलले प्रधानमन्त्री देउवा र प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । हिजो बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले एमसीसीलाई पत्र लेख्ने प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका हुन् । रावलले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवा र प्रचण्डले पत्र लेख्नु आपत्तिजनक भएको बताए ।

प्रचण्ड प्रवृति र डार्विनको सिद्धान्त

प्रचण्ड डार्विनको सिद्धान्तवाट केहि हदसम्म प्रभावित भएको हुनसक्ने अनुमान उनको व्यवहारवाट अप्रत्यक्ष रुपमा झल्कन्छ । प्रसिद्ध अंग्रेज वैज्ञानिक चार्ल डार्विनद्वारा प्रतिपादित ‘क्रम विकासको विकासवादी सिदान्त’ अनुसार सबै प्रकारका जीवजन्तू तथा वनस्पतिले आफ्नो ‘अस्तित्वका लागि संघर्ष’ जिवनपर्यन्त गर्नुपर्दछ । संघर्ष गर्न सफल जीवहरू अर्को पुस्तामा जान सक्षम हुन्छन् भने संघर्ष गर्न नसक्ने लोप भएर जान्छन् । यो डार्बिनको बाँच्नको लागि संघर्ष सिद्धान्त हो ।

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि आफूलाई केन्द्रमा राखेर प्रचण्डले पनि नेपाली राजनीतिमा आफ्नो अस्तित्व राखिरहन अझसम्म सफल भएका थिए । माओवादी जनयुद्धमार्फत नेपाली राजनीति र विश्व कम्युनिष्ट राजनीतिमा उदाएका प्रचण्डको राजनीतिक जीवन पनि उतारचढावको मिश्रण हो भन्दा फरक पर्दैन । जुन परिकल्पना गरिएर जनयुद्धको भएको थियो, त्यसलाई तिलान्जली दिई उनी शान्ति सम्झौतामा हस्ताक्षर गरेर शान्तिपूर्ण संसदीय राजनीतिको प्रवेश गरेका थिए । नेपाली सेनाको शक्ति बढ्दै जाँदा आफ्नो अस्तित्व श्रीलंकाको लिबरेशन टाइगर्स अफ तमिल वा लिट्टेको जस्तो हुने हो की भनेर उनी शान्तिपूर्ण राजनीतिमा आएका थिए ।

डार्विनको सिद्धान्त अनुसार बाँच्नका लागि मनुष्यले संघर्ष गर्नुपर्छ तर त्यो जातिको यस पृथ्वीमा अस्तित्व रहन्छ, जो योग्य छ, त्यहि बाँच्छ । संघर्षको क्रममा सजीव कति बाँच्ने भन्ने कुरा प्रकृतिले छनौट गर्दछ । बाँच्नको लागि आवश्यक गुणहरू विकास हुँदै जादा धेरै समयको अन्तरालमा बढी उन्नतशील जीवको छनोट र कम उन्नतशील जीवको विनाश हुन्छ । यस प्रवृत्तिलाई प्राकृतिक छनोट भनिन्छ ।

डार्विनको योग्यतम प्राणीको बचावट र प्राकृतिक छनौटको सिद्धान्त अनुसार प्रत्येक प्राणीले बाँच्नका लागि आफूलाई स्थानीय वातावरणसँग अनुकुल बनाउनु प्राकृतिक छनौट हो र आफ्न दुश्मनहरुबाट बच्नका लागि आफूसँग भएको दांत, नंग्रा, सिङ, पुच्छर, हात, खुट्टा आदिको प्रयोग वा परिचालन गर्नु बचावट हो । संघर्षमा विजयी बाँच्न सफल हुन्छन् ।

प्रचण्डले झलनाथ खनाल, केपी ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । तर उनको मोड चाँडो भन्दा चाँडो परिवर्तन हुने भएकोले उनका विरोधीहरुले उनलाई ‘नेपाली राजनीतिको अस्थिरताको प्रतिक’ भने आरोप पनि लगाउने गर्छन् । कहिले ओलीसंग एकता गरेर माओवादी एमालेमा विलय गरे भने कहिले आफ्नो टाउकाको मोल टिक्ने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासंग काँधमा काँध जोडेर आफूलाई केन्द्रमा राख्न सफल हुँदै आएका थिए । डार्विनको सिद्धान्त अनुसारको राजनीतिमा रणनीति अपनाउदै आएका प्रचण्डका दु:खका दिन फेरि शुरु भएका छन् ।

निष्कर्ष

भनिन्छ- बिनास काल बिपरित बुद्धि । अहिले प्रचण्डलाई यस्तै भएको छ । उनको अस्थिर मानसिकता र कपटपूर्ण राजनीतिक प्रवृतिले उनी आफै आलोचनाको तारो भएका छन् । उनले माओवादीलाई देशभित्र र बाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको बताएपनि समस्याको जड उनी आफै हुन् । सत्यलाई लुकाउन खोजे पनि एक दिन अवश्य देखिन्छ भने झैँ अहिले प्रचण्डको असली नियतको प्रदाफास भएको छ ।

गीतामा भगवान् कृष्णले भनेका छन्- विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आशक्ति हुन जान्छ । आशक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पन्न हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृति भ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ । वा क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन हुन थाल्छ ।

राजनीति राज्यको नीति तथा अवधारणा भएकोले यसको सम्वन्ध सभ्यता, संस्कार र संस्कृतिसंग जोडिएको हुन्छ । राजनीति पेशा होइन, राजनीति विशुद्ध सामाजिक सेवा हो, यसलाई कदापी पनि कमाई खाने भाँडो बनाउनु हुन्न । राजनीति भनेको नैतिकताको व्यापक रूप तथा सम्भावनाको कला हो, यसको उपयोग मानव कल्याणमा हुनुपर्दछ ।

भनिन्छ, “इमान्दार मानिस ईश्वरको सर्वोत्तम सिर्जना हो” । धर्म त्यो हो जसले हामीलाई सबै प्रकारका विनाश र अधोगतिबाट बचाएर उन्नति–प्रगतितर्फ अग्रसर गराउँछ । धर्मले व्यक्तिलाई आपत–विपतमा धैर्य धारण गरी कार्य गर्ने, साहसपुर्वक संकटको मुकावला गर्ने, असल काम गर्ने प्रेरणा प्रदान गरी सहयोग गर्दछ । पवित्रता, स्वच्छता र शुद्घता नै धर्म हो । यसले पाप र पुण्यको विश्लेषण गरेर राम्रो कार्य गर्न मात्र सचेत गर्दछ । यसले कुबाटोमा लाग्न निषेध गर्दछ ।

अतः धर्मले सचेतना प्रदान गर्ने ठूलो कार्य गरिरहेको हुन्छ । जे मनुष्यले गर्छ त्यसको फल अवश्य पाउछ । दान शुभ कर्म हो र हिंसा अशुभ कर्म हो । गीतामा पनि भनिएको कि कर्मका शुभ अशुभ फललाई अवश्य भोग्नु पर्दछ, त्यसबाट छुटकारा मिल्दैन । तसर्थ जस्तासुकै दुःख र कठिन परिस्थितिमा पनि धर्म नफलौ । अध्यक्ष प्रचण्ड जी ! नेपाली राजनीतिको केन्द्रमा सधै हुनुपर्छ भन्ने तपाईको मनोवृत्ति गलत भएकोले राजनीतिमा हुनुपर्ने निष्ठा र धर्म नफाल्नुहोस् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र प्रचण्डमाथि छानबिन गरेर कारबाही गर्न रावलको माग

प्रचण्डप्रति बाबुरामको व्यंग : भित्रभित्र राष्ट्रघात बाहिरबाहिर राष्ट्रवाद !

देश गम्भीर संकट उन्मुख छ : रवीन्द्र मिश्र

देउवा र प्रचण्डले एमसीसीलाई पत्र लेखेकोमा जनतासँग माफी माग्नु पर्छ : कमल थापा

एमसीसीले देउवा र प्रचण्डलाई पठाएको जवाफी पत्रमा के छ ? (पत्रसहित)

देउवा र प्रचण्डले एमसीसी संसदबाट पारित गर्ने भनेर पत्र पठाएको खुलासा (पत्रसहित)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !