२२ बैशाख २०८१, शनिबार

निर्वाचन आयोगद्वारा आजदेखि मतदाता नामावली संकलन स्थगित


निर्वाचन आयोग

काठमाडाैं । सरकारले आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसंगै निर्वाचन आयोगले आजदेखि स्थानीय निर्वाचनका लागि मतदाता नामावली संकलन स्थगित गरेको छ ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको तयारी मङ्गलबारदेखि नै तीव्र तुल्याउने भएको हो । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न/गराउन आयोग भौतिक, प्राविधिक र व्यवस्थापकीय तवरले तयार रहेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले वर्षेभर निर्वाचनसँग सम्बन्धित कुनै न कुनै कार्यक्रम गर्दै आएकाले तयारी नै रहेको बताउँदै उनले कानुन अनुरूप निर्णय गरी मङ्गलबारदेखि नै मतदाता नामावली दर्ता कार्य स्थगित गरिने जानकारी दिए ।

निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्देशन दिइएकाे आयोगले बताएको छ । आयाेगले मतदाता नामावली प्रकाशनकाे तयारी गरेकाे छ ।

कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न नपाइँने भएकोले आयोगले उक्त कार्य स्थगित गरेको हो । निर्वाचनको मिति घोषणा भएपछि हिजै सोमबार दिउँसो आयोगमा बैठक बसेको थियो ।

आयोगले कुन दिन के गर्ने भनी निर्वाचन कार्यतालिका लागि गृहकार्यका अतिरिक्त निर्वाचनका लागि आवश्यक निर्देशिका र कार्यविधि तयार गर्नेछ । साथै निर्वाचनका लागि आवश्यक पर्ने अनुमानित बजेट तर्जूमा गरी निकासाका लागि अर्थ मन्त्रालयलाई पत्रचार गर्नेछ ।

केही दिनअघि मितिका सन्दर्भमा परामर्श दिने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन तयारीका लागि प्रक्रिया अघि बढाउन आयोग पदाधिकारीलाई सुझाव दिँदै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !