२२ बैशाख २०८१, शनिबार

देउवालाई रावलको प्रश्न : तपाई नेपालीको प्रधानमन्त्री कि विदेशीको ?


भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विदेशी दवाव सामु घुँडा टेक्ने तपाई नेपालीको प्रधानमन्त्री कि विदेशीको ? भनेर प्रश्न गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै नेता रावलले प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने भन्ने अभिव्यक्तिप्रति व्यंग पनि गरेका छन् ।

रावलले एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवा नेपालीको प्रधानमन्त्री कि विदेशीको ? भनेर प्रश्न उठाउदै जनतालाई जवाफ दिएर स्पष्ट पार्न आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्नैपर्ने बाध्यतामा आफू रहेको बताउदै एमसीसी पास नभए पाँचदलीय गठबन्धन टुट्ने चेतावनीसमेत दिएको भनेर संचार माध्यममा समाचार बाहिर आएपछि रावलको यस्तो प्रतिक्रिया आएको हो ।

उनले लेखेका छन्, ‘प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको? जनतालाई जवाफ दिनुहोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !