४ जेष्ठ २०८१, शुक्रबार

उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै


सत्ता गठबन्धनको बैठक

काठमाडौं । उच्च स्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । यसअघि हिजो बिहीबार नै बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै आज अपराह्न ४ बजेसम्मको लागि स्थगित गरिएको थियो ।

यस्तै हिजै साँझ मात्र प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

राष्ट्रियसभा निर्वाचन र अन्य निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक आज अपराह्न ४ बजे बस्न लागेको हो । सरकार सञ्चालनमा सहयोग गर्न गठित राजनीतिक समन्वय समितिको आज बस्न लागेको बैठकमा स्थानीय तहको निर्वाचन मिति घोषणा लगायत विषयमा छलफल हुने बालुवाटार स्रोतले बताएको छ ।

गत मंगलबार बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरोध जारी राखेकोले अव संसद चलन नसक्ने भएकोले वैशाखमा संसदीय र कात्तिकमा स्थानीय तह निर्वाचन गर्ने प्रस्ताव राखेकोले सो विषयले पनि आजको बैठकमा स्थान पाउने देखिन्छ ।

निर्वाचन ऐन संशोधन, तीनै तहका निर्वाचन तथा स्थानीय निकायको निर्वाचन पहिला गरेर पछि संसद र प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव आजको बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।

आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संवैधानिक प्रावधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्यनजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसकेपनि आज शुक्रबार पुनः बैठक बस्न लागेको हो ।

११ जना सदस्य रहेको सत्ता गठबन्धनका ५ दलबाट राजनीतिक समन्वय समितिमा प्रधानमन्त्री पनि बैठकमा उपस्थित हुने गर्छन् । समन्वय समिति कांग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समितिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !