२३ बैशाख २०८१, आइतबार

कानुनमन्त्री तामाङले भने, ‘ठूलाबडाहरुले कानुनको ‘मिसयूज’ गरे’


SherBahadur Tamang

चैत २९, काठमाण्डौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफू कानुन निर्माणमा व्यस्त रहेको बताएका छन् ।

मन्त्रालय कानुन निर्माणको प्रक्रियामा खटिएको बताउँदै उनले नमुना कानुन सबै बनिसकेको दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै मन्त्री तामाङले नमुना कानुन बनाएर प्रदेशसभालाई पठाइएको बताए ।

अहिले कुनै पनि प्रदेशमा कानुनको अभाव नभएको उनको जिकिर छ । प्रदेशसभाहरु पनि कानुन पारित गर्ने प्रक्रियामा लागिसकेको जानकारी मन्त्री तामाङले दिए ।

कानुन सबैका लागि बराबर हुने भए पनि ठूलाबडाले कानुनको दुरुपयोग गर्ने गरेको मन्त्री तामाङको भनाई छ ।

“कानुन सबैको लागि हुन्छ । ठूलाबडाहरुले मिसयुज गर्छन् । कानुनको कार्यान्वयनको अभाव छ । कानुनको प्रभावकारी कार्यान्वयन जरुरी छ ।” तामाङले भने ।

मन्त्री तामाङले पूर्व प्रधानन्यायाधिश गोपाल पराजुलीले कानुनअनुसार जुन मितिदेखिको पेन्सन पट्टा पाउनुपर्ने हो त्यही मितिदेखिको पाउने बताए ।

निजामती किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाइदिने भएको छ ।

किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन २१ देखि फागुन मसान्तसम्म लिएको सबै सुविधा फिर्ता गराउन भनेको हो ।

जन्ममिति विवादपछि पदमुक्त भएका पराजुलीको अवकाशको झन्डै एक महिनासम्म पनि पेन्सनपट्टा बन्न नसकेको हो ।

“कुन मितिदेखि पेन्सन हुने हो, कुने मितिदेखिको सेवा सुविधा पाउने भन्ने कुरा कानुनमन्त्रीले भनेर हुँदैन । सम्बन्धित निकायले स्पष्ट पार्छ ।” तामाङले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !