१४ बैशाख २०८१, शुक्रबार

वर्तमान गतिरोधलाई अन्त्य गर्न सबैको प्रयास केन्द्रित हुनुपर्छ : पूर्वराष्ट्रपति यादव


डा. रामवरण यादव फाइल फोटो

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जनताको प्रतिनिधिले बनाएको संविधानमाथि पछिल्ला चार वर्षमा बारम्बार आक्रमण भइरहेको बताएका छन् । आज यहाँ आयोजित कार्यक्रममा चन्द्रदेव जोशीद्वारा लिखित ‘माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलन’ पुस्तकको विमोचन गर्दै उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिमूलक संस्था संसद् विघटन गरेर संविधानको मर्ममाथि प्रहार गरेको बताए । “राष्ट्रपति र प्रधानमन्त्री मिलेर दुई–दुई पटक संविधानलाई खत्तम गर्न खोजियो, सदनमाथि आक्रमण गरियो”, उनले भने ।

जनताको सङ्घर्षको बलमा जारी संविधानले खडा गरेका संस्थाले संविधानलाई जोगाउन पहल गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको गुनासो थियो । “यसलाई मजबुद बनाउनका साटो प्रहार गर्ने काम भयो”, गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले भने ।

जिम्मेवार व्यक्तिबाट बारम्बार प्रहार गरिएको संविधान जोगाउन पाँच दल, नागरिक समाज, नेपाली जनता र अदालतले बचाएको बताए । पछिल्ला समय न्यायालयमा देखिएको विकृतिप्रति चिन्ता व्यक्त गर्दै उनले मुलुकमा सुखद् सङ्केत नदेखिएको बताए ।

“अदालतमा यो स्थिति छ, संसद्मा त्यो स्थिति छ, यो व्यवस्थालाई बचाएर लैजान राष्ट्रपतिको के कर्तव्य छ, सरकारको के दायित्व छ ? सरकारले राज्यको कार्यकारिणीको दायित्व छ, राजनीतिक दललाई एक ठाउँमा राखेर छलफल गरेर अदालतलाई कसरी चलाउने ? प्रतिनिधिसभालाई कसरी अगाडि लैजाने ? सम्पूर्ण समस्याको समाधान गर्ने थलोलाई बन्धक बनाएर राखिएको छ”, उनले भने ।

उनले वर्तमान राजनीतिक गतिरोधलाई अन्त्य गर्र्दै उन्नत समाज निर्माणमा सबैको प्रयास केन्द्रित हुनुपर्ने बताए । राजनीतिक दलहरूमा देखिएको विचलन र भ्रष्टीकरणले नेपाली जनता सन्तुष्ट नभएको उनको भनाइ थियो ।

लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर नेपालमा राजनीतिक परिवर्तन भएको उनले बताए । पुस्तकमाथि डा इन्दिरा अधिकारी, डा हरि रोका र डा. सुरेन्द्र केसी लगायतले समीक्षा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !