२५ बैशाख २०८१, मंगलबार

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी


सत्ता गठबन्धन बैठक

काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेको छ । आज बिहान ९ बजेदेखि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी रहेको हो ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वमा सत्तारुढ पाँच दलका शीर्ष नेताहरू सदस्य रहेको उच्चस्तरीय समन्वय जारी बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण, राष्ट्रिय सभा निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भएको बताइएको छ ।

उक्त समितिमा काँग्रेसबाट नेता पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र उपाध्यक्ष दुर्गा पौडेल रहेका छन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै आएको अवरोध अन्त्यका विषयमा पनि छलफल जारी रहेको बुझिएको छ । प्रतिनिधिसभामा एमालेले जारी राखेको अवरोधका विषयमा नेता पौडेलले हिजो बुधबारमात्रै एमाले अध्यक्ष केपी ओलीसँग उनकै निवास बालुवाटारमा भेटवार्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !