२२ बैशाख २०८१, शनिबार

यस्तो छ अध्यक्ष प्रचण्डको राजनीतिक जीवन


प्रचण्ड

काठमाडौँ । मुक्तिराम दाहाल र भवानी दाहालको सुपुत्रका रूपमा कास्कीको तत्कालीन ढिकुरपोखरी गाविस–१ लेवाडेमा जन्मेका अध्यक्ष प्रचण्ड राजनीतिक रूपमा जनयुद्ध, शान्ति प्रक्रिया, गणतन्त्र स्थापना, संविधानसभाको नेतृत्वकर्ताको हैसियतमा नेपालको राजनीतिमा क्रियाशिल छन् ।

पछिल्लो पटक आज पुनः अध्यक्षमा निर्वाचित भएपछि उनले महाधिवेशनमा उन्नत खालको लोकतान्त्रिक अभ्यास भएको बताए । उनले भने, “माओवादी नेतृत्व प्रचण्डको आदेशमा कार्यकर्ताले ताली पड्काएर चुनिएको होइन । मैले आदेश दिएर पनि यो कमिटी निर्वाचित भएको होइन । पार्टीका नेता तथा कार्यकर्ताले नै आफ्नो नेतृत्व चयन गरेको हो ।”

उनले आयोजक समिति र स्थायी समितिको प्रस्तावका रूपमा महाधिवेशनको हलले केन्द्रीय समितिलाई निर्वाचित गरेको उनको भनाइ छ । महाधिवेशनमा देश विकास र समृद्धिबारे छलफल भएको तथा देशलाई समृद्ध बनाउने विषयमा बृहत् बहस भएको उनको भनाइ छ । उनले महाधिवेशनले आफूलाई अध्यक्षका रूपमा काम गर्नुस् भन्ने जिम्मेवारी दिएको उनको कथन छ ।

उनले नारायणी विद्या मन्दिर मावि शिवनगर-२०२९, डण्डा मावि नवलपरासी र भीमोदय मावि, आरुघाट, गोरखामा (२०३३–०३५) सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनीतिक जीवन प्रारम्भ गरेका प्रचण्डले रामबहादुर थापा ‘बादल’, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका थिए ।

विसं २०२८ सालमा पुष्पलाल समूहबाट पार्टी सदस्यता प्राप्त गरेका थिए । तत्कालीन नेकपा (चौम)मा प्रवेश गरेका उनले २०३५ सालदेखि पूर्णकालीन कार्यकर्ताका रूपमा पार्टीको जिम्मेवारी सम्हाए । विसं २०३६ मा चितवन जिल्ला समिति सदस्य, २०३८ सालमा क्षेत्री ब्यूरो सदस्य बनेका उनी २०३८ सालमा अखिल नेपाल युवक सङ्घको केन्द्रीय महासचिवमा निर्वाचित भए ।

राजनीतिक यात्राको क्रममा २०४१ सालमा नेकपा (मशाल)को केन्द्रीय समितिको सदस्य, २०४२ सालमा नेकपा (मशाल)कोे पोलिटब्यूरो सदस्य र २०४६ सालमा नेकपा (मशाल)को महामन्त्रीमा निर्वाचित हुनुभयो । तत्कालीन मशालका महामन्त्री मोहन वैद्यको प्रस्तावमा नै उनी महामन्त्रीमा चयन भएका हुन् ।

यस्तै, २०४६ सालमा नेकपा (एकता–केन्द्र)को महामन्त्री निर्वाचित भएका अध्यक्ष प्रचण्ड, २०५१ सालमा पुनः नेकपा (माओवादी) को महामन्त्रीमा निर्वाचित भए । विभिन्न कम्युनिस्ट घटकहरूको एकता पछि एकता केन्द्र गठन भएको थियो ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा (माओवादी)को अध्यक्ष भए ।

यस्तै विसं २०५८ मा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर तथा २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक भएका थिए । विसं २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनबाट काठमाडौँ क्षेत्र नं १० र रोल्पा क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित भए ।

तत्कालीन नेकपा(माओवादी) संविधानसभाको ठूलो दलका रूपमा स्थापित भयो । ठूलो दलको नेताका रूपमा उनी २०६५ साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भए ।

यस्तै, २०६९ मा हेटौँडामा आयोजना गरिएको एकताको सातौँ राष्ट्रिय महाधिवेशनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को अध्यक्षमा निर्वाचित भए । त्यस्तै २०७१ मा विराटनगर आयोजना गरिएको राष्ट्रिय सम्मेलनबाट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), अध्यक्षमा पुनः निर्वाचित भए ।

यस्तै, २०७३ साल विभिन्न १० वटा समूहका रहेका माओवादी समूहको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), गठन भयो । सो पार्टीको अध्यक्षमा समेत प्रचण्ड नै निर्वाचित भए । संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा ३६३ सदस्यको बहुमत प्राप्त दास्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

यस्तै, २०७५ जेठ ३ गते तत्कालीन नेकपा(एमाले) सँग पार्टी एकता गर्दै नेकपा निर्माण गर्नुभएका अध्यक्ष प्रचण्ड सो पार्टीमा पनि अध्यक्षको रूपमा थिए । गत फागुन २३ गते सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी फरक पार्टीका रूपमा अस्तित्वमा आएपछि उनी पुनः अध्यक्षकै रूपमा कार्यरत थिए । नवनिर्वाचित अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्याहरू (भाग १, २ र ३), प्रचण्डका सङ्कलित रचनाहरू (भाग १ र २) र प्रचण्डका सङ्कलित सैन्य रचनाहरू पुस्तक प्रकाशित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !