१३ बैशाख २०८१, बिहिबार

राप्रपा अध्यक्ष लिङ्देनले पार्टी एकताको प्रस्ताव लिएर भेटे रवीन्द्र मिश्रलाई


राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रवीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच आज शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न आज शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् ।

भेटपछि मिश्रले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद’ भनेर लेखेका छन् । मिश्रले आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्गदेन तथा महामन्त्री राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएकोमा दुबैप्रति आभारी प्रकट पनि गरेका छन् ।

भेटवार्ताको क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । उनले लिङ्देन र राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिएका छन् ।

स्रोतका अनुसार भेटका क्रममा लिङ्देनले एजेण्डा उस्तै उस्तै भएकाले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएका छन् ।

केही महिनाअघि मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव गरेका थिए । ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’ दस्तावेज सार्वजनिक गर्दै उनले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजीको प्रस्ताव अघि सारेका थिए ।

केही हप्ताअघि मात्र विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्काशनको घोषणा गरेका थिए । पाण्डेले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै अध्यक्ष मिश्रले निष्काशनको घोषणा गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !