२२ बैशाख २०८१, शनिबार

सांसद होइन, विषय विशेषज्ञलाई मन्त्री बनाऔँ : उपकुलपति सिंह


प्रा. डा. नन्दबहादुर सिंह

कर्णाली । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले सांसद नभई विषय विशेषज्ञलाई मन्त्री बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय सुर्खेतमा आज आयोजित पत्रकार सम्मेलनमार्फत नेपालका ११ वटा विश्वविद्यालयमध्ये मध्यपश्चिम विद्यालयमा लेखा र वित्तमा विद्यावारिधि गरेको अब्बल व्यक्तिलाई रजिष्ट्रार नियुक्ति गरेको बताउँदै उपकुलपति प्रा. डा. सिहले भने, “नेपालमा दुर्भाग्य छ, ठेकेदार हुने विज्ञानमन्त्री बन्ने, कानून पढ्ने उद्योगमन्त्री बन्ने संस्कार आज पनि छ । अब नेपालको पार्टी र सरकारले सांसदलाई मन्त्री हुने कुराबाट बन्द गर्नुपर्यो ।”

नेपालका पार्टी र प्रधानमन्त्रीलाई आग्रह गर्दै उपकुलपति प्राडा सिंहले भने, “मान्नुहुन्छ भने कुनै पनि सांसदलाई मन्त्री हुने बाटो बन्द गर्नुहोस् । त्यो परम्पारलाई अन्त्य गर्नुहोस् । अब विज्ञानको विज्ञ विज्ञानमन्त्री, शिक्षाको विज्ञ शिक्षामन्त्री, उद्योग क्षेत्रको विज्ञ उद्योगमन्त्री र शहरी विकासको विज्ञ शहरी विकासमन्त्री बनाउने संस्कारको विकास गर्नुहोस् ।”

उनले प्रधानमन्त्रीलाई उत्कृष्ट र विज्ञ व्यक्तिलाई मन्त्री बनाउन पनि अपिल गरे । विज्ञ जनशक्तिले मात्र देश बनाउन सक्ने उनको जिकिर थियो । पत्रकार सम्मेलनमार्फत उहाँले विश्वविद्यालयबाट १५ श्रेणीका अवार्ड तथा कदर एवं प्रशंसापत्र घोषणा गरिएको जानकारी दिए । सो अवसरमा उपकुलपति सिंहले विश्वविद्यालयको एघारौँ सभामा भएका गतिविधि र खर्चको पनि स्पष्ट जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !