१९ बैशाख २०८१, बुधबार

प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र निधि समूहबीच कुटाकुट

देउवा र निधि केन्द्रमा जुटे, प्रदेशमा फुटे


प्रदेश २ को कांग्रेस अधिवेशनमा देउवा र निधि समूहबीच कुटाकुट

जनकपुर । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनअन्तर्गत मतदानस्थलमा विवाद हुँदा कुटाकुट भएको छ । अधिवेशनमा सभापति शेरबहादुर देउवा र सभापतिका अर्का उम्मेदवार बिमलेन्द्र निधिको समूहबीच कुटाकुट भएको हो ।

दुई समूहको विवादले उग्र रुप लिएपछि प्रहरीले अधिवेशन स्थलमा लाठीचार्ज समेत गरेको थियो । कांग्रेसको प्रदेश २ समितिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो ।

जनकपुरधाममा जारी अधिवेशनमा संस्थापन देउवा समूहका सभापतिका उम्मेदवार कृष्ण यादव र निधि समूहका सभापतिका उम्मेदवार रामसरोज यादवबीच कुटाकुट भएको हो ।

देउवा समूहका कृष्णले आज बुधबार नै मतदान गर्नुपर्ने अडान राखेका थिए भने निधि समूहका रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद उत्पन्न हुँदा कुटाकुटमा कांग्रेसका केही कार्यकर्ता समेत घाइते भएका छन् ।

गोपाल धर्मशालास्थित दुई पक्षबीच अधिवेशनको विषयमा विवाद भएको हो । निधि समूहले आज ढिलो भएको भन्दै भोलि बिहीबार मतदान गराउने माग गरेपनि देउवा समूहले भने आजै राति नै मतदान गराउनुपर्ने अडान राखेपछि दुई समूहबीच विवाद भएको हो ।

यसरी देउवा र निधि केन्द्रमा जुटेपनि उनीहरुको समूहलाई प्रदेशमा समायोजन गर्न नसक्दा प्रदेशमा यी समूहवीच द्वन्द्व सिर्जना हुँदा फुटेका छन् । केन्द्रमा शीर्ष नेताहरुको लेनदेनमा कुरा मिलेपनि यसको असर प्रदेशमा देखिन थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !