१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसको केन्द्रीय समितिमा तीन क्लस्टरको मतपरिणाम आज आउने


मतगणना फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज खस आर्य, आदिवासी जनजाति र दलित क्लस्टरको मतगणना भइरहेको छ ।

खस आर्यबाट १३, आदिवासी जनजातिबाट १५ र दलितबाट नौ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसको विधानमा छ । आज ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउनेछ । अरु परिणाम यसअघि नै सार्वजनिक भइसकेको छ ।

तीन क्लस्टरबाहेकको निर्वाचन परिणाम प्राप्त भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । पार्टी विधानमा १२१ केन्द्रीय सदस्य र १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था छ ।

एक सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने व्यवस्था छ । यसैगरी ३३ केन्द्रीय सदस्य मनोनयनको अधिकार पनि सभापतिलाई दिइएको छ ।

आगामी चारवर्षे कार्यकालका लागि गत मङ्सिर २७ गते मतदान भएको थियो । विद्युतीय मतदान प्रक्रियामा जान सहमति नजुटेका कारण निर्वाचनको अन्तिम परिणाम आउन एक हप्ताभन्दा बढी समय लागेको छ । आज बेलुकीसम्म भने सबै परिणाम प्राप्त भइसक्ने निर्वाचन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !