१४ बैशाख २०८१, शुक्रबार

मन्त्रीवाट राजीनामा दिँदै मिनेन्द्रले भने- राजनीतिबाट पनि सन्यास लिन सक्छु


डा. मिनेन्द्र रिजाल फाइल फोटो

काठमाडौँ । रक्षामन्त्री पदवाट राजीनामा दिंदै डा. मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाटै सन्यास लिन सक्ने संकेत गरेका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् ।

उनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडी बढ्न सुझाव दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित हुनुभएकाले उनका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा. रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए । उनले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए ।

नेपाली कांग्रेस मोरङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य रहेका नेता रिजालले आज सिंहदरबारमा पत्रकार सम्मेलनर्फत महाधिवेशनमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको घोषणा गरे । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामापत्र बुझाएर मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।

“नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु”, डा. रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।

“अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैँलाई झुटो बोलेर सान्त्वना दिनु उचित हुन्न”, पत्रकार सम्मेलनमा डा. रिजालले भने, “आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पूँजी बचाएर राख्नका लागि पनि राजीनामा दिएको हुँ ।”

डा रिजाल १८ वर्षदेखि पार्टीको केन्द्रिय कार्यसमितिमा छन् । महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति सङ्केत गर्दै उनले भने, “राजनीतिमा नहुने निर्णय गरेँ भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसूस भएको छ ।”

उनले महाधिवेशनले निर्वाचित गरेको नेतृत्वले आफूलाई कांग्रेसको सदस्यका रूपमा जसरी उपयोग गर्न चाहन्छ, त्यो उचित लाग्यो भने त्यही किसिमले अगाडि बढ्ने नत्र आफ्नो बाटो आफैँ रोज्दै जाने पनि बताए । विसं २०२५ सालदेखि नै विपी कोइरालालाई आदर्श मान्दै आएको भन्दै उनले आउने दिनमा राजनीतिमा रहे पनि र नरहे पनि काम गर्दा त्यो ऊर्जामा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता जनाए ।

अहिले नै आगामी दिनमा कसरी जाने भनेर निर्णयमा भने पुगिनसकेको उनले बताए । उनले पाँच जना निर्वाचित हुँदा ८० वर्ष पुग्दै गरेका, ४० वर्ष भर्खर नाघेका र बीचका नेताको समिश्रणको टिम बनेको बताउँदै बढी युवाको अनुहार आएको, त्यसले सबै कांग्रेस र पाको नेतालाई एउटा सन्देश दिएको बताए । “त्यसलाई सदाशयताका साथ लिन सके विपीको पार्टीलाई ऊर्जावान बनाउन सकिन्छ”, उनको भनाइ थियो । उनले अढाई महिनाको रक्षा मन्त्रालयको बसाइ स्मरणयोग्य रहेको उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !